बुधबार, जेष्ठ २, २०८१

प्रेस स्वतन्त्रतालाई संविधानको मर्म अनुसार रक्षा गर्नुपर्छ :अध्यक्ष मगर

काठमाडौं वैशाख २० ,

३०औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघको प्रकाशन पत्रकार सुरक्षा सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कुनै पनि बाहानामा प्रेसमाथि अंकुश लगाउन नहुने बताउनुभएको छ ।

साथै उहाँले प्रेस जगतले निष्पक्ष, स्वतन्त्र र मर्यादित भई घृणायुक्त अभिव्यक्तिबाट अलग भएर कार्य गर्नुपर्नेमा विशेष जोड दिदै लोकतान्त्रिक शासन व्यवस्थामा नागरिकको सुसूचित हुन पाउने अधिकारको सुनिश्चितता गर्दै प्रेस स्वतन्त्रतालाई संविधानको मर्म अनुसार रक्षा गर्न सबैजना क्रियाशील हुनुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोख्रेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै पत्रकारमाथि हुने हिंसाका घटनामा संख्यात्मक रुपमा कमी आएको पनि प्रवृत्तिगत रुपमा प्रेस जगतप्रति नयाँ खालका चुनौतीहरु थपिदै गएको बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रतालाई सुनिश्चित गराउन सबै सरोकारवालालाई एक भई समस्या पहिचान गरी समाधान गर्नुपर्नेमा बताउनुभयो ।

त्यस्तै नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सरोकारवालाको सहभागितामा निर्माण हुने प्रेस सम्बन्धी कानुन आफैतर्फ फर्किन सक्नै भन्दै त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष तथा सल्लाहकारद्वय डा.महेन्द्र विष्ट र गोविन्द आचार्य , न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्का, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा लगायतले विश्व प्रेस स्वन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, प्रदेश, जिल्ला शाखाका प्रतिनिधि सहित पत्रकार तथा नागगरिक समाजका प्रतिनिधिको सहभागिता रहेको थियो ।  यसअघि महासंघले बिहान सिनामगंलचोकबाट महासंघ केन्द्रीय कार्यालयसम्म प्रभातफेरीको आयोजना गरिएको थियो ।