सोमवार, बैशाख १७, २०८१

काठमाडौं महानगरले सामुदायिक स्वास्थ्य स्वयमसेविका निर्देशिका जारी गर्दै 

महानगरका ५२८ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका मध्ये ६३ जनाको उमेर ६० बर्ष माथि

काठमाडौं माघ २१
काठमाडौँ महानगरपालिका महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका परिचालन तथा कोष सञ्चालन निर्देशिका २०७९ को मस्यौदा विधायन समितिमा पठाउने निर्णय भएको छ । शुक्रबार उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । महानगरबासीको स्वास्थ्यमा सेवाको पहुँच सुनिश्चित गर्न तथा स्वस्थ्य सहर निर्माणको लक्ष्य पूरा गराउन स्वास्थ्य स्वयमसेविकाहरुको परिचालन गर्न सरकारले कार्यक्रम सञ्चालन रणनीति जारी गरेको छ । यही रणनीतिका आधारमा महानगरले निर्देशिका जारी गर्न लागेको हो।
काठमाडौँ महानगरमा २०५२ सालदेखि स्वास्थ्य स्वयमसेविकाहरु काम गरिरहेका छन् । ५५८ संख्यामा रहेका स्वयमसेविकामध्ये ५ जनाको मृत्यु भइसकेको छ । विदेश गएर वा यस्तै अन्य कारणले २५ जना अनुपस्थित छन् । बाँकी ५२८ मध्ये ६३ जनाको उमेर ६० बर्ष पूरा भइसकेको छ ।

खोपलगायत स्वास्थ्य सम्बन्धी राष्ट्रिय कार्यक्रम सञ्चालन हुँदा स्वयमसेविकाहरु परिचालन हुने गरेका छन् । सरकारका स्वास्थ्य सेवा सम्बन्धी जानकारी समुदायमा लैजाने मुख्य जिम्मेवारी रहेका कारण स्वास्थ्य स्वयमसेविकाको व्यवस्थापन, हित र परिचालनलाई चुस्त एव दुरुस्त गर्नुका लागि निर्देशिका जारी गर्न लागिएको हो । निर्देशिकामा सामुदायिक महिला समूहको गठन, स्वयमसेविका छनौट, कार्य अवधि, पद रिक्त हुने अवस्था, तालिम तथा क्षमता विकास, काम कर्तव्य र

अधिकारलगायत विषयसंगै स्वयमसेविकाहरुको हित प्रवर्धन , सञ्चालन गरिने केन्द्रीय र वडा स्तरीय कोष सञ्चालन, प्रोत्साहनका कार्यक्रमसंगै उमेर हदका कारण सेवा रहन नसक्ने स्वयमसेविकाहरुको विदाइका कार्यक्रम समेत निर्देशिकामा समेटिने जनाएको छ। बैठकमा महानगरका प्रवक्ता नविन मानन्धर, शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जन लगायतको उपस्थिती रहेको थियो ।