सोमवार, बैशाख १७, २०८१

तीजमा पशुपति मूल मन्दिर आसपासको क्षेत्रमा तस्वीर लिन निषेध , तस्बिर खिचे जरिवाना

काठमाडौ भाद्र १२,
पशुपति क्षेत्र विकास कोषले आसन्न हरितालिका तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाइ मूल मन्दिर आसपासको क्षेत्रमा तस्वीर लिन निषेध गरेको छ।  पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्नुको अलावा सनातन कालदेखिनै तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर समेत खिची तस्वीरको अनाधिकृत मनोरञ्जनको लागि सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने जस्ता कामकारवाहीले प्रशय पाएसंगै कोषले तस्वीर खिच्न रोक लगाएको हो ।

पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवामाना सहित कारबाहीको क्रम शुरु गरिएको कोषका अधिकारीहरुले जनाएको छ।

कोषले पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा सुक्ष्म अनुगमन सहित मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमनको तयारी गरेको र यसवीचमा तस्बिर खिचेको पाइएमा गर्भगृहको तस्बिर खिचेमा २,१०० रुपैयाँ, मुख्य मन्दिरको तस्बिर खिचे १,१०० र मूल मन्दिर परिसरको तस्बिर खिचे रु ५०० जरिवाना हुने जनाएको छ । त्यस्तै कोषले आउँदो १४ भाद्र मनाइने तीज पर्वको अवसरमा बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेशमा रोक लगाइने जानकारी सहित नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि आह्वान गरेको छ।

यसैवीच पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन कोषले कोटेश्वर–तीनकुने –सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाएको छ भने दोस्रो मित्रपार्क क्षेत्रबाट तेस्रो गौशाला–पिंगलस्थान–पञ्चदेवल क्षेत्रबाट र चौँथो लाइन गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ।