आइतवार, बैशाख १६, २०८१

स्वर्गीय काँग्रेस नेता गिरीको राजकीय सम्मानका साथ अन्त्यष्टि

काठमाडौं भाद्र ५ ,
कांग्रेस नेता स्वर्गीय प्रदीप गिरीको अन्त्यष्टि राजकीय सम्मानका साथ गरिएको छ । आइतबार साँझ पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था अनुरुप गिरी राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको हो । गिरीलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी ओली, गृहमन्त्री बालकृष्ण खाँण, अरु मन्त्रीहरु, सांसदहरु, नेपाली कांग्रेसका नेताहरुका साथै सर्वसाधारणहरु आर्यघाट पुगेका थिए । उहाँको सम्मानमा सुरक्षाकर्मीको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो। नेता गिरीको पार्थिव शरीरमा उहाँका छोरा सन्तोष गिरीले दागबत्ती दिनुभएको हो ।

यसअघि कांग्रेसका दिवंगत नेता प्रदीप गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालय वीपीनगर सानेपामा राखिएको छ । आइतबार दिउँसो २ बजेसम्म पार्टी कार्यालयमा पार्थीव शरीर राखिने र त्यसपछि पशुपतिआर्यघाटका लागि शवयात्रा शुरु गरिने कांग्रेसले जनाएको छ ।

सानेपामा पुगेर कांग्रेससहित सबै राजनीतिक दलका शीर्षनेता सानेपा पुगेर गिरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले पार्थिव शरीरमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

साथै कांग्रेस नेताहरु रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, सीतादेवी यादव, वामदेव गौतम, डा प्रकाशशरण महत, देव गुरुङलगायतका दर्जनौ नेताले पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली दिएका थिए ।