विश्लेषण
- बसन्त शर्मा /काठमाडौं
अमेरिका उसै पनि संसारकै चर्चामा रहने राष्ट्र, अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले संसार भरी चर्चाको शिखरमा छन् । अनपेक्षित जित पछी अब उनले अख्तियारी गर्ने नीति के होला, कसो होला भनेर पुरै विश्व अलमलमा परेको अवस्था हो । यसैबीच उनै ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको टेलिफोन वार्ताले संसारभरीका सञ्चारमाध्यममा यो साता प्राथमिकता पाए । दुई शक्तिशालि देश रणनीतिक र व्यापारीक दृष्टिकोणले सहकार्य गर्न इच्छुक रहेको संकेत गर्दछ । टेलिफोन वार्ता फगत औपचारिकता मात्रै हो भन्नु मुर्खता होला । त्यसैगरी नव निर्वाचित राष्ट्रपति ट्रम्प र भ्लादमीर पुटिनसँगको सम्पर्कले पनि रुससँगको सम्बन्धलाई दिइने महत्व झल्कन्छ ।
कतिपयले अमेरिकामा जो सत्तामा पुगेपनि नेपालीलाई किन चासो भनेर सतही कुरा र तर्क गरीरहँदा हामी त्यो प्रभावबाट दिर्घकालिन रुपले वा अप्रत्यक्ष ढगंले अछुतो रहन सक्दैनौं भन्ने कुरालाई आत्मसाथ गर्न सकौं । अर्थतन्त्रका दुई शक्ति केन्द्र देश चिन र अमेरिकाबीच कहाँ कति समझदारी र सहकार्य हुन्छ यो यसै भन्न सकिंदैन तर रणनीतिक रुपमा सुरक्षा र सैन्य गतिविधिमा भने पक्कै भिन्नता रहलान आँकलन गर्न सकिने कुरा हो । जुन कुरा जापान देखि पाकिस्तान वा खाडी देखी मध्य पूर्व सम्म फैलियला । त्यतिमात्रै नभएर युरोपेलि युनियन र अन्य एशियालि मुलुकसँग पनि ट्रम्प नीतिको प्रभाव रहला । निर्वाचन प्रचारको अभियानका ताका जस्तो रवैया के साँच्चिकै नव निर्वाचित राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालमा लागु गर्लान त ? यो एउटा विश्व समुदायको साझा प्रश्नका रुपमा खरो रुपले तेस्रिएको छ ।
निर्वाचन अभियानका क्रममा खासगरी आप्रवासीहरुको विषयमा र चिनलाई मुख्य शत्रुको संज्ञा दिएको विषय अनि मुस्लिम समुदायर र हिन्दु समुदाय प्रतिको उनको धारणा अब उनको परिक्षाका कडिका रुपमा लिन सकिएला तर सत्ता सञ्चालन उनि एक्लैले गर्ने होइन । त्यहाँको मेकानिज्मले सञ्चालन गर्ने विषय हो । नव निर्वाचित राष्ट्रपति ट्रम्पले आफ्ना नीति र कार्यक्रम त्यहाँको आवश्यकतालाई हेरेर बनाउलान नै हामीलाई त्यो विषय उति महत्वको पक्कै होइन । तर हामिलाई उनिले अख्तियारी गर्ने विदेश नीति अझैं त्यसमा पनि गरिव देशको सम्बन्धमा कस्तो रवैया अपनाउलान भन्ने मात्रै हो । सिनियर बुस, जर्ज डब्लु बुस जुनियर र बिल क्लिन्टन र पछिल्लो पटक बाराक ओबामाहरुका नीतिमा तात्विक भिन्नता थिएन हामी जस्ता गरबि देशकालागि । हामी जस्ता देशलाई कुनै अर्को देशको रिफ्रेन्सको आधारमा नीति तथा व्यवहार नभइदिए हाम्रालागि त्यही फलदायी कुरा हुेने थियो । अहिले आशा गरौं मात्रै ।
जसरी चुनावी अभियानमा उनलाई चित्रण गरियो एउटा सन्कि र आफ्नो मनोमानि ढगंले चल्ने व्यक्ति भनेर । सायद अब उनि त्यो रवैयाले सत्ता सञ्चालन नगर्लान त्यसको पहिलो कडिका रुपमा उनले सपथ पहिले नै रिपब्लिकन नेसनल कमिटिका अध्यक्ष समेत रहेका रेन्स प्रीबसलाई आफ्नो प्रमुख कर्मचारी र न्युज नेट वर्कका कार्यकारी अध्यक्ष बनोट ब्रेटबार्टलाई रणनीतिकारको रुपमा नियुक्त गरी सकेकाछन् । यसले के देखाउँछ भने आफ्नै पार्टी भित्र आलोचना खेपि रहँदा जसरी भारतमा लालकृष्ण आडवाणीलाई विस्थापित गर्दै मोदि उदाय त्यसरी नै अमेरिकामा नव निर्वाचित राष्ट्रपति ट्रम्प पनि स्थापित भए । उनि आफ्नो पार्टीको नीति देखि त्यति धेरै वाहिर गइहाल्नेछन भन्न त सकिंदैन तर निर्णय लिन उनि एक्लै काफि रहनेछन भन्ने सहजै अनुमान गर्न सकिन्छ । एउटा अर्को प्रसंग छ जब निर्वाचन प्रचार अभियानमा थिए उनि निर्वाचन परिणाम आँफुले नस्विकार्न सक्ने अभिव्यक्तिले उनको महत्वाकाक्षां देखाउँछ त्यति मात्रै होइन उनले आफ्नो जीतकालागि परिणाम आँफुले नस्विकार्ने एउटा नयाँ हतियार प्रयोग समेत गरेका थिए । अक्सर अब चुनावमा जानु पूर्व हरेक देशमा जे परिणाम आए पनि स्विकार्छौं भन्ने प्रचलनलाई उनिले चुनौति मात्रै दिएनन, गलत समेत सावित गरिदिए । प्रसगं जोडौं विश्व राजनीति कसरी अगाडि बढला भनेर :
यो नै यतिबेलाको सबैभन्दा बढी महत्वको विषय हो । युरोपबाट बेलायत छुट्टिएको अवस्था चिनमा एउटा बरियतामा पुगि सकेको नेतालाई फाँसि दिएर चिनियाँ राष्ट्रपति सी जिनपिङले आँफुलाई शक्तिशालि बनाएको परिवेश अनि भारतमा हिन्दूत्वको वकालत गर्नुका साथै जतिबेला पनि जस्तोसुकै निर्णय लिन सक्ने नरेन्द्रमोदीको दवदवा, खाडि देशको आर्थिक चलखेल अनि अर्कातर्फ आतंकवादका विरुद्धको कारवाही र संसारैभरी प्राकृतिक श्रोतमाथिको सबैको चासो त्यसैगरी उत्तर एटलान्टिक सहयोग संगठनको चासो यी र यस्ता सबै परिघट्नाले कतै विश्व युद्धकालागि माहोल बन्दै जाने त होईन ? गम्भिर सवाल खडा गरेको छ ।
प्रकृतिमा वर्षात हुन वा जाडो अनुभव गर्न वा गर्मि नै महशुस हुन मौषम मिल्नु पर्ने हुन्छ । अनि गाडिको गिएर बदल्नलाई समेत मौषम मिलाउनु पर्ने आवश्यकता हुन्छ, कतै विश्व युद्ध वा चरम राजनीतिक ध्रुविकरणको अवस्था आउने त होइन अब ? जस्को मौषम मिलाउने काम यीनै अमेरिकी नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबाट हुने त होइन ? यो एउटा हाईपोथेटिकल थ्रेट मात्रै पनि मान्न सकिन्छ ।
यी र यस्ता धेरै आशंकाहरुकाबीच नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० तारिखमा लिने शपथ ग्रहण र त्यसको केही महिना सम्म संसारले फेरी उनिलाई नै पखर्रे बस्नै पर्नेछ, कि साँच्चिकै उनि कस्तो नीति लिएर विश्वसामु प्रस्तुत हुनेछन् । निर्वाचन ताकाको मत सर्वेक्षण जस्तो उल्टो परीणाम त नआउला भन्न सकिंदैन । विश्व राजनीतिका बारेमा लेख्दा वा बोल्दा कतिपयले चलेका नाम, लेखक वा कुनै कालखण्डको राजदुत या त दलका नेताहरुको विश्लेषनलाई बढी खोज्ने गर्दछन तर ति कैयौं पटक झुट पनि सावित भईसकेका उदाहरण छन् हाम्रो समाजमा । अबको विश्व सहि समयमा सहि विश्लेषण गर्नेहरुको हातमा जाँदैछ भन्ने कुरालाइ पनि हामीले मनन गर्नै पर्नेहुन्छ । भनाइको मतलव अमेरिकाको विष्लेषण गर्न अमेरिका नै पुगेको हुनुपर्छ भन्ने होईन् । त्यहाँका नागरिको आवश्यकता, त्यहाँको परम्परा, त्यो देशको आर्थिक नीति र अवस्था अनि कुटनीति र पेन्टागनको नीति बुझ्न सक्नुपर्छ । यसर्थ नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका आगामि दिनले विश्व राजनीतिलाई कति ध्रुविकरण गर्छ या संसारका विभिन्न देशहरुको आ आफ्नै अस्तित्व स्विकार गर्दै सबैलाई समेटेर लैजान्छन । अबका केहि महिना विश्वले कुर्नै पर्ला । जाँदा जाँदै अमेरिका आँफुले मात्रै चाहेर सबै गर्न सकिहाल्छ भन्ने अवस्था भने अब रहेन भन्ने बुझिराखौं ।