बुधबार, बैशाख २६, २०८१

विपीको स्मृतिमा २ सय बिरुवा रोपिए

जगत प्रजापति/भक्तपुर श्रावण ६ , ३४ औं विपी स्मृति दिवसको अवसरमा विपी उद्यान बनाउने उद्देश्यले विपी चिन्तन प्रतिष्ठानले मध्यपुर थिमि–१६, लोकन्थलीस्थित प्रस्तावित विपी उद्यानमा वृक्षारोपण गरेको छ । लोकन्थलीस्थित करिव १० रोपनी क्षेत्रफलको सार्वजनिक जग्गामा प्रतिष्ठानले विपी उद्यान बनाउने प्रस्ताव गरेको छ । सो उद्यान निर्माणका लागि स्व. कमलबहादुर खड्का स्मृति प्रतिष्ठान, स्व. जगन्नाथ आचार्य स्मृति प्रतिष्ठान, मध्यपुर युथ एशोसियसन र स्थानीय नागरिक Captureसमाजले संयुक्तरुपमा पहल गरिरहेको छ ।करिव एक सय जना स्थानीयको उपस्थितमा सल्ला, ढुपी, चाँप, कपुर, तेजपात, पारिजातलगायतका २ सय बिरुवा रोपिएको उद्यान निर्माणका लागि गठन भएको जग्गा व्यवस्थापन समितिका संयोजक विजयकृष्ण खड्काले जानकारी दिनुभयो । सो उद्यानमा वि पी, कमलबहादुर र जगन्नाथ आचार्यको शालिक समेत राख्ने योजना रहेको खड्काले बताउनुभयो ।

सो अवसरमा सांसद रामेश्वरप्रसाद ढुंगेलले मुलुकको वर्तमान राजनीतिक अवस्थामा विपीको मेलमिलापको नीति अंगिकार गर्नु सान्दर्भिक भएको बताउनुभयो । उहाँले सरकारको नेतृत्व गरेको दलले नै संसद चल्न नदिने र विपक्षीलाई संसदमा प्रवेश गर्न नदिने उद्घोष गर्नुले संसदलाई द्धन्द्ध गर्ने थलोको रुपमा परिणत गर्ने षडयन्त्र गरेको आरोप लगाउनुभयो । स्थानीय युवा समूह धनसारे गुठीले संयोजन गरेको वृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री ढुण्डीराज शास्त्री, मध्यपुर थिमि नगरपालिकाका पूर्व मेयर मदनकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिका सभापति सुरेन्द्र श्रेष्ठ, पूर्व सभापति अष्टकुमार कवे लगायतको उपस्थिती रहेको थियो । वृक्षारोपणका लागि आवश्यक बिरुवा जिल्ला वन कार्यालय भक्तपुरले उपलब्ध गराएको खड्काले जानकारी दिनुभयो ।