शुक्रबार, बैशाख १४, २०८१

भूकम्प प्रभावित जिल्लाका विद्यार्थीलाई सहयोगको घोषणा

काठमाडौं आषाढ २२, बानेश्वर क्याम्पसमा प्लस टु र स्नातक तहका विभिन्न संकायमा भर्ना हुने भूकम्प प्रभावित १४ जिल्लामा स्थायी वसोवास भएका विद्यार्थीलाई एक महिनाको शुल्क मिनाहा गर्ने क्याम्पसले निर्णय गरेको छ । काठमाडौंको शान्तिनगरस्थित बानेश्वर क्याम्पसमा आज आयोजित पत्रकार  सम्मेलनमा क्याम्पसले यस्तो सहयोगको घोषणा गरेको हो ।
गत वैशाख १२ र २९ गतेको महाभूकम्पबाट प्रभावित विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा सहायता गर्ने उद्देश्यले बानेश्वर क्याम्पसले सहयोग कार्यक्रमको घोषणा गरेको जनाएको छ । क्याम्पसमा हाल अध्ययनरत भूकम्प प्रभावित १४ जिल्लाका सम्पूर्ण विद्यार्थीहरुले समेत उपरोक्त एक महिनाको शुल्क मिनाहाको सुविधा पाएका छन् ।

यस सुविधाबाट क्याम्पसमा हाल अध्ययनरत विद्यार्थीमध्ये झण्डै ४ सय बढी विद्यार्थी लाभान्वित हुने बानेश्वर क्याम्पसका प्रमुख रमेश कोइरालाले जानकारी दिनुभयो । उहाँले बानेश्वर क्याम्पसले सामाजिक उत्तरदायित्वको निर्वाह गर्दै भूकम्प प्रभावित जिल्लाका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न प्रेरित गर्ने उद्देश्यसहित सहयोग घोषणा गरेको बताउनुभयो । एसएससी पास भएर पनि प्लस टुमा मँहगो शुल्कका कारण भर्ना हुनबाट भूकम्प प्रभावित १४ जिल्लाका विद्यार्थी बञ्चित नहोउन् भन्ने उद्देश्यले क्याम्पसले सहायताको घोषणा गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

 त्यसैगरी क्याम्पसले सरकारबाट भूकम्प प्रभावित भएको परिचयपत्र प्राप्त गरेका विद्यार्थीलाई भने दुई महिना शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । भूकम्पका कारण अभिभावक गुमाएका विद्यार्थीलाई एक वर्षको सम्पूर्ण मासिक शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । क्याम्पसले भूकम्प प्रभावित जिल्लाका विद्यार्थीलाई दिएको यो सहुलियतका अतिरिक्त छात्रवृत्ति कार्यक्रम पनि यथावत् रहने बानेश्वर क्याम्पसका सह–प्राध्यापक कृष्णदेव यादवले बताउनुभयो । । जसअन्तर्गत प्लस टुमा भर्ना हुने ८५ प्रतिशतभन्दा माथि अंक प्राप्त गरेका विद्यार्थीलाई १२ महिना, ८० देखि ८५ प्रतिशत अंक प्राप्त विद्यार्थीलाई ९ महिना, ७५ देखि ८० विद्यार्थीलाई ६ महिना, ७० देखि ७५ प्रतिशत अंक प्राप्तलाई ३ महिनाको शुल्क मिनाहा गर्दै आएको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो । पत्रकार सम्मेलनमा प्राध्यापक संघ बानेश्वर क्याम्पस इकाइका सभापति कृष्ण हमालले सामुदायिक क्याम्पसहरु मध्येबाट बानेश्वर क्याम्पसले नै पहिलो पटक भूकम्प प्रभावित जिल्लाका विद्यार्थीलाई लक्षितगरी यसरी सहयोगको घोषणा गरेको बताउनुभयो ।