बुधबार, बैशाख २६, २०८१

असन्तुष्टलाई समेट्नुपर्छ :  मन्त्री डा रिजाल

काठमाडौ ज्येष्ठ ९, सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले असन्तुष्ट नेकपा–माओवादीलगायत दललाई समेत सहभागी गराई जनताको चाहनाअनुरुपको संविधान निर्माण गर्नुपर्ने बताउनुभएको छ । नेसनल युनियन अफ जर्नालिस्टद्वारा आज यहाँ आयोजित ‘सहभागितामूलक प्रजातन्त्र’ Dr-Minendra-Rijal-NC-Congressविषयको कार्यशाला गोष्ठीमा सूचना तथा सञ्चारमन्त्री डा रिजालले मुलुकमा रहेका सबै राजनीतिक दलको आआफ्नै विचार र कार्यदिशा रहेका छन्, तर सबैको साझा उद्देश्य भनेको जतिसक्दो चाँडो जनताको संविधान निर्माण गर्नु हो, त्यसैले सरकार र दलका नेताहरु त्यसतर्फ गम्भीर हुन जरुरी छ भन्नुभयो ।

कार्यक्रममा नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले साँचो अर्थमा जनताको संविधान निर्माण गर्ने हो भने वर्तमान संविधानसभालाई विघटन गरेर सर्वपक्षीय, सर्वदलीय गोलमेच सम्मेलनमार्फत संविधानका विवादित विषयमा छलफल गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

पत्रकार युवराज गौतमले कार्यपत्र प्रस्तुत गर्दै राजनीतिक आस्था र विचारका आधारमा कुनै पनि शक्तिलाई निषेध गर्न हुँदैन भन्दै मुख्य राजनीतिक दलले असन्तुष्ट सबै दललाई समेटेर जानुपर्ने बताउनुभयो । अधिवक्ता रामप्रसाद श्रेष्ठले संविधान सबै समस्याको समाधान नभएको र एक पटक बनेको संविधान संशोधनरहित हुन नसक्ने हुँदा वर्तमान संविधानसभाले बनाउने संविधानलाई स्वीकार गर्दै आर्थिक विकासलाई द्रुत गतिमा लैजानुपर्नेमा जोड दिनुभयो । rss