शनिबार, बैशाख ८, २०८१

राजधानीबाट मृर्गौला तस्करीमा संलग्न गिरोह पक्राउ ,शल्यक्रिया कक्षबाटै पिडितको उद्धार

काठमाडौं ज्येष्ठ ९,  प्रहरीले मृर्गौला तस्करीमा संलग्न गिरोहका १० जनालाई पक्राउ गरेको छ । विभिन्न प्रलोभन देखाएर मृर्गौला खरिद–बिक्री गर्दै mirgaula-finalआएको गिरोहका १० जनालाई राजधानीको विभिन्न स्थानबाट विहीबार पक्राउ गरी महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । यसरी पक्राउ पर्नेहरुमा काभ्रेका प्रकाश तामाङ, अमिर तामाङ, बिनोद मिजार, विक्रम परियार, हरि परियार, सागर मिजार, दोलखाकी सरस्वती श्रेष्ठ, धादिङका राजु खड्का, काठमाडौंका रञ्जित महर्जन र कञ्चनपुरका गौर सिंह जागरी रहेका छन् ।

सिन्धुपाल्चोकका २० वर्षीय युवक रमेश सुनारलाई बुधबार ललाइ–फकाइ मृर्गौला झिक्नका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याएको जानकारी पाएपछि प्रहरीले अस्पतालको शल्यक्रिया कक्षबाटै उनको उद्धार गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले मृर्गौला झिक्नकै लागि चितवनबाट ल्याइएकी १६ वर्षीया किशोरी पूजा राईलाई सुन्धाराको होटलबाट उद्धार गरेको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका सुनारको मृर्गौला कञ्चनपुरकी मानवती बोहोरा जागरीलाई प्रत्यारोपणका लागि दिलाउने उद्देश्यले झिक्ने लागिएको र सुनारलाई बोहोरा बनाइ नक्कली नागरिकता, नाता प्रमाणितको कागजात र नक्कली मेडिकल रिर्पोट समेत बनाइएको पाइएको प्रहरीले बताएको छ ।
मृर्गौला तस्करीमा संलग्न मध्ये केहीलाई शिक्षण अस्पताल महाराजगञ्बाट र केहीलाई सुन्धाराबाट प्रहरीले पक्राउ गरेको हो । यो गिरोहले एउटा मृर्गौलाको तीन लाख रुपैयाँसम्म दिने भन्दै मृगौला झिक्न लगाउने र महँगोमा बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । यो गिरोहसँग मृगौला झिक्ने कार्यमा संलग्न चिकित्सक र अस्पतालका स्वास्थ्यकर्मीको संलग्नता भए नभएको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।