शुक्रबार, बैशाख १४, २०८१

विष्णुवीर एवम् सिद्धिकाली जात्रा सम्पन्न

 भक्तपुर वैशाख २, मध्यपुर थिमीमा  सोमबारदेखि सुरु भएका दुईदिने प्रसिद्ध विष्णुवीर एवम् सिद्धिकाली जात्रा आज बिहान थिमीमा सम्पन्न भएको छ । विष्णुवीर जात्राको सुरुमा स्थानीय प्रथम गणेशलाई पाङ्गु टोलमा तीनपटकसम्म लिन जाने, विष्णुवीरलाई सुङ्गा टोलबाट तछुटोलको गणेश, प्रथम गणेश, वामुने गणेश, थासमा गणेशलगायत विभिन्न देवगणसहित इनाय् टोल, हात्ती महाङ्काल, भुलाँखेल, चोडे, सिवाटोल, दथुटोल, लाछी, वामुने टोल हुँदै पुनः तछुटोल, सुङ्गा टोल र बालकुमारी मन्दिरमा परिक्रमा गराइएको थियो ।

बालकुमारी मन्दिरको डबलीमा राखिएको विष्णुवीरसहितको देवगणलाई स्थानीय बासिन्दाले पूजा गरेपछि विष्णुवीरलाई सुङ्गाटोलबाट पाङ्गु टोलमा लैजाँदा नेवारी परम्पराअनुरूप मान्छे मर्दा बजाइने सिं बाजा बजाउँदै लाने प्रचलन रहेको स्थानीय श्रीकृष्ण प्रजापतिले जानकारी दिनुभयो । विष्णुवीरलाई कुनै पनि भूतप्रेतले छुन नसकोस् भनी उक्त बाजा बजाउने गरिएको र जात्रामा मलामी जाँदा झैँ टोपी फुकालेर जाने परम्परा अहिलेसम्म रहेको उहाँले बताउनुभयो ।

त्यस्तै सिद्धिकालीका साथै अन्य विभिन्न देवगण थिमीको हात्ती महाङ्काल, कुमाननी, तुलाननी हुँदै जात्रा चपाचो पु¥याई स्वङ्गापुरको दुना फल्चा परिक्रमा गराई भुलाँखेल हुँदै चपाचो सिद्धिकालीको आफ्नै स्थानमा विराजमान गराइएको थियो । त्यसैगरी विष्णुवीर, दक्षिण बाराही, बालकुमार लगायतका अन्य देवगणलाई सिन्दूर चढाई आ–आफ्नो स्थानमा विराजमान गराएपछि आजको जात्रा विसर्जन गरिने स्थानीय हरिदास प्रजापतिले बताउनुभयो । रास