काठमाडौ पौष २८, काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७३/७४ लागि रु तीन अर्ब ६६ करोड २० लाख ७० हजार बजेट विनियोजन गरेको छ । महानगरपालिकाको २७ औँ नगर परिषद्मार्फत योजना तथा कार्यक्रम सहित आज सार्वजनिक गरिएको उक्त बजेटका लागि आन्तरिक आयबाट रु एक अर्ब ४२ करोड ४४ लाख ९२ हजार खर्च जुटाउने र कुल विनियोजनमध्ये दुई अर्ब ९९ करोड २२ लाख २० हजार पुँजीगत खर्च तथा रु ६४ करोड ९८ लाख ५० हजार चालुतर्फ बजेट विनियोजन गरेको कामपाले जनाएको छ ।
महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार गत वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका धार्मिक, पुरातात्विक एवम् सांस्कृतिक महत्वका स्मारक, मठमन्दिर तथा अन्य भौतिक संरचनाको पुनः निर्माणलाई विशेष प्राथमिकतामा राख्दै महानगरपालिकाकाबाट प्रवाह गर्ने सम्पूर्ण सेवालाई सूचना प्रविधिमा आबद्ध गर्नका लागि रु छ करोड ७५ लाख विनियोजन गरेको जानकारी दिनुभएको छ ।
त्यस्तै आगामी आवमा पुनःनिर्माण तथा पर्यटन प्रवद्र्धनका लागि रु ७ करोड विनियोजन गर्नुका साथै हुनुमानढोका दरबार क्षेत्रभित्र परेका सम्पदा तथा सांस्कृतिक धरोहर संरक्षण तथा पुनःनिर्माणका लागि रु २० करोड विनियोजन गरेको छ । साथै पुनःनिर्माण तथा भौतिक विकासका लागि नै उपभोक्ता र महानगरपालिकाको सहकार्यमा ढल निर्माण, सडक योजना, सडक बत्तीलगायतका निर्माण कार्य गरी भौतिक निर्माण तथा पूर्वाधार मर्मतका लागि रु १० करोड रकम विनियोजन गरिएको उहाँले जानकारी दिनु भएको छ ।
त्यसैगरी कार्यकारी तामाङले वडा नागरिक मञ्जबाट सिफारिस भई आएका ‘एक वडा, एक पूर्वाधार’ कार्यक्रमअन्तर्गत प्रत्येक वडाका लागि रु एक करोड र अन्य महत्वपूर्ण सहरी पूर्वाधार निर्माणका लागि रु १४ करोड रकम विनियोजन गरिएको जनाउँदै सडक विस्तार कार्यक्रमतर्फ रु ४० करोड, खुला क्षेत्र, सार्वजनिक पर्ति जग्गा, सडक किनाराको समुचित उपयोग गरी हरियाली प्रवद्र्धनका लागि रु १० करोड, सौर्य ऊर्जा विकासका लागि रु १० करोड र बैंक वित्तीय संस्था, व्यावसायिक संस्था परिचालका लागि रु १० करोड वियनियोजन गरिएको छ भने भूकम्पपछिको संयुक्त आवास कार्यक्रम रु ३ करोड, रानीपोखरीको पुनःनिर्माण तथा स्तरोन्नतिका लागि रु तीन करोड, बालाजु उद्यान र शङ्खपार्क संरक्षणका लागि रु १० करोड र सहरी यातायातलाई व्यवस्थित गर्न रु पाँच करोड विनियोजन गरेको जानकारी दिनु भएको छ ।
त्यसैगरी फोहरमैला व्यवस्थापन प्रणालीमा समयानुकूल प्रविधिको प्रवद्र्धनका लागि रु एक करोड ३० लाख र जनस्वास्थ्य तथा सामाजिक विकासअन्तर्गत महानगरपालिकामा कार्यरत कर्मचारीका लागि रु ५० लाख तथा अन्य शीर्षकमा महानगरपालिकाले आफ्नै टेलिभिजन प्रसारण गर्नका लागि रु ५० लाख विनियोजन गरेको जनाएको छ ।