काठमाडौ भाद्र १२, नेकपा माओवादीको नेतृत्वमा रहेको ३३ दलीय मोर्चाले संविधान लेखन प्रक्रियामा भइरहेको अवरोध अन्त्य गर्न सर्वपक्षीय राजनीतिक सम्मेलनको आयोजना गर्न माग गरेको छ ।
मोर्चाको आज बसेको बैठकले प्रमुख राजनीतिक दलले सीमा निर्धारणसहित सङ्घीय प्रदेशसहितको संविधानको परिमार्जित मस्यौदा सार्वजनिक गरेपछि मुलुकका विभिन्न स्थानमा उत्पन्न भएको असन्तुष्टिलाई सम्बोधन गर्न सरकार र प्रमुख दललाई आग्रह गरेको छ । बैठकपछि मोर्चाका तर्फबाट माओवादीका अध्यक्ष मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा सेना परिचालन गरिनु र मुलुकभर निषेधाज्ञा जारी गरिनु गलत भएको भन्दै सो निर्णय फिर्ता लिन आग्रह गरिएको छ ।