बिहिबार, बैशाख २०, २०८१

संविधान निर्माणको ऐतिहासिक दायित्व पूरा गर्न सफलता मिलोस : प्रम कोइराला

काठमाडौ वैशाख १,  नव वर्ष २०७२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, sushil koirala_शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री सुशील कोइरालाले नेपाली जनताले साढे सात दशकभन्दा अगाडिदेखि गर्दै आएको सङ्घर्षको परिणामस्वरुप प्राप्त सङ्घीयता, गणतन्त्र र समावेशितासहितको लोकतन्त्रलाई संविधानसभाबाट बन्ने संविधानमा लिपिबद्ध गरी संस्थागत गर्न सबै राजनीतिक दल जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको छ ।

त्यस्तै शुभकामना सन्देशमा प्रम कोईरालाले राजनीतिक दलबीचको निरन्तर संवाद, सहकार्य, एकता र मेलमिलापबाटै राजनीतिक सहमति कायम हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै   लोकतान्त्रिक शासन व्यवस्थाको लागि हाम्रा अग्रज नेताहरू र योद्धाहरूले दिएको बलिदान र योगदानलाई स्मरण गर्दै नेपाल र नेपालीको भविष्य सुनिश्चित गर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको कार्यलाई हामीले सफल पार्नै पर्दछ ।

संविधान निर्माणको  ऐतिहासिक दायित्व पूरा गर्न नयाँ वर्ष २०७२ ले हामी सबैलाई प्रेरणा र सफलता मिलोस भन्ने कामना गर्दै उहाँले आफ्नो नेतृत्वमा रहेको सरकार संविधान निर्माण प्रक्रियामा सार्वभौम संविधानसभालाई सघाउँदै देशमा दिगो शान्ति, राजनीतिक स्थायित्व र तीव्र गतिको आर्थिक विकासका माध्यमबाट नेपाली जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन प्रयत्नशील रहेका उल्लेख गर्नु भएको छ ।

साथै यसैअवसरमा समस्त राजनीतिक दल, नागरिक समाज र आमनागरिकसँंग राष्ट्रहित, जनकल्याण, शान्ति, स्थायित्व, विकास र मुलुकको समुन्नतिका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्न आआफ्ना स्थानबाट सहयोग गर्न समेत हार्दिक अपिल गर्नु भएको छ।