आइतवार, बैशाख २३, २०८१

घुस लिँदालिँदै नापी अधिकृत र सर्वेक्षक रङ्गेहात अख्तियारको नियन्त्रणमा

काठमाडौ पौष ७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय कलङ्कीअन्तर्गत सतुङ्गलस्थित २ नम्बर टोलीका प्रमुख नापी अधिकृत रामनरेश साह र सोही टोलीका नापी सर्वेक्षक रामनारायण यादवलाई घुस लिँदालिँदै आज रङ्गेहात नियन्त्रणमा लिएको छ ।  सतुङ्गल–७ स्थित कित्ता न.ं १२ र ६९ को जग्गामा हाल साविक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग akither-ko-logo1गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले सर्वेक्षक यादवललाई रु १५ हजार घुस लिएको र सो रकममध्येको रु १० हजार सोही नापी टोली प्रमुख नापी अधिकृत साहलाई दिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

यसैबीच रुपन्देही मानमटेरिया गाविसका खरिदार शिवप्रसाद उपाध्यायलाई घुससहित अख्तियारको टोलीले आज नियन्त्रणमा लिएको छ । सेवाग्राहीसँग जन्मदर्तामा आमाको नाम संशोधनको सिफारिसका लागि निवेदन दिएका मानमटेरिया–७ का एक सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको सम्पर्क कार्यालय बुटवलको टोलीले खरिदार उपाध्यायलाई रु पाँचहजार घुस लिँदालिँदै नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।