बिहिबार, बैशाख २०, २०८१

प्रम कोइरालाले मोदीलाई भने, हातेमालो गरौं

काठमाठौं ज्येष्ठ १३/चन्द्रशेखर अधिकारी,  प्रधानमन्त्री सुशील कोइरालाले दक्षिण एसियाको विकासका लागि हातेमालो गरेर अघि बढ्न भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका छन्। भारतका १५ औं प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन सोमबार नयाँदिल्ली पुगेका कोइरालाले उनलाई बधाई र शुभकामना दिने क्रममा यस्तो आग्रह गरेका हुन्।

ModiAndKoiralaभारत भ्रमणमा सहभागी कांग्रेस नेत्री सुजाता कोइरालाले टेलिफोनमा दिएको जानकारीअनुसार प्रधानमन्त्री कोइरालाले शान्ति र विकासमा भारतको भूमिका अहं रहेको बताएका थिए। प्रधानमन्त्री कोइरालाले मोदीलाई नेपाल भ्रमण गर्न निम्तो पनि दिएको सुजाताले बताइन्। कोइरालाले मोदीको पहिलो विदेश भ्रमण नेपालबाट गर्न आग्रह गरे।  कोइरालाले मंगलबार दिउँसो प्रधानमन्त्री मोदीसँग छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ। भेटवार्तामा दुईपक्षीय सम्बन्ध, सार्क क्षेत्रको विकासका लागि साझेदारी तथा मोदीको भ्रमणबारे छलफल हुने सुजाताले बताइन्।

कोइरालाले भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग पनि संक्षिप्त भेट गरेका थिए। भेटमा नेपालको पछिल्लो अवस्थाबारे सामान्य छलफल भएको थियो। त्यस क्रममा मुखर्जीले नेपालको परिवर्तन सकारात्मक रूपमा संस्थागत हुँदै गएको भन्दै दिगो शान्ति स्थापना र संविधान जारी होस् भन्ने कामना पनि गरेका थिए। मुखर्जीले सार्क राष्ट्रका सरकार प्रमुखलाई छुट्टै चियापानसहित भेटघाट गरेका थिए।

शपथ समारोहमा मोदीले नेपालको सद्भाव आफूले पाएको भन्दै कोइरालाको बधाई र शुभकामना स्वीकार गरेको जानकारी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले दिए। कोइरालाले मंगलबार भाजपा अध्यक्ष एवं गृहमन्त्री राजनाथ सिंह र कांग्रेस आईका अध्यक्ष सोनिया गान्धीसँग भेटवार्ता गर्नेछन्। भट्टराईका अनुसार प्रधानमन्त्री कोइरालाले बुधबार स्वदेश फर्कनुअघि भाजपा नेता लालकृष्ण आडवाणी, कांग्रेसका विदेश विभाग प्रमुख करण सिंह, जनता दल युनाइटेडका शरद यादवलगायतसँग भेटवार्ता गर्न कार्यक्रम छ।

मोदीले शपथ समारोहमा सार्कका सबै राष्ट्र तथा सरकार प्रमुखलाई आमन्त्रण गरेका थिए। प्रधानमन्त्री कोइरालाले साइडलाइनमा भेटिएका सार्क सदस्य देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई नेपालले आगामी कात्तिकमा गर्न लागेको १८ औं सार्क शिखर सम्मेलनबारे जानकारी दिए। उनले शिखर सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको जानकारी दिँदै उनीहरूको साथ र सहयोगको अपेक्षा पनि गरेका थिए।

नेपाल भ्रमण गर्न नपाउँदा सिंह दुखी   निवर्तमान भारतीय प्रधानमन्त्री मनमोहन सिंहले आफ्नो दुई कार्यकालमा पनि नेपाल भ्रमण गर्न नपाएको भन्दै दुख व्यक्त गरेका छन्। प्रधानमन्त्री सुशील कोइरालासँग सोमबार नयाँदिल्लीमा भेटवार्ता गर्दै सिंहले भने, नेपाल आउने चाहना राख्दाराख्दै मेरो भ्रमण हुन सकेन, यसमा दुस्खी छु। उनले प्रधानमन्त्रीको सरकारी निवास सेभन रेसकोर्स छोड्नु केही समयअघि कोइरालालाई भेटेका थिए। सिंहले पुरानो मित्रता रहेको छिमेकी मुलुक नेपालको राजनीतिक परिवर्तन र विकास प्रक्रियालाई भारतले नजिकबाट नियालेको पनि बताएका थिए। नेपालमा देखिएको सकारात्मक परिवर्तनलाई विश्वले हेरिरहेको छ। परिवर्तन संस्थागत गरेर अघि बढ्न नेपाल सफल भएको छु, सिंहलाई उदृत गर्दै सल्लाहकार भट्टराईले भने।  प्रधानमन्त्री कोइरालाले सिंहलाई अझै पनि स्वागत गर्न चाहन्छौं भन्दै निम्तो दिएका थिए। सिंहले पनि समय मिलाएर नेपाल भ्रमण गर्ने बताए।  अन्नपूर्ण पोष्ट