शनिबार, बैशाख १५, २०८१

किसान विरोधी भूमि बैक कार्यक्रम अविलम्ब खारेज गर्न माग

 काठमाडौ चैत १५,

 ६ कम्युनिस्ट पार्टी निकट किसान संगठनले नयाँ सत्ता गठबन्धनले ल्याएको साझा संकल्प प्रस्तावमा भूमि बैक जस्तो नवउदारवादी कार्यक्रम समावेश भएकोमा किसान संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अखिल नेपाल किसान महासंघसहित ६ कम्युनिस्ट पार्टी निकट किसान संगठनले आज एक सयुक्त प्रेस विज्ञप्ति जारी गर्दै किसान विरोधी भूमि बैकको कार्यक्रम अविलम्ब खारेज गर्न जोडदार माग गरेको छ।

त्यस्तै जारी विज्ञप्तिमा भूमि बैकको अवधारणा कार्यान्वयले भूमिमाथिको निजी स्वामित्वलाई बलियो बनाई भ्रष्टाचार गरेर सम्पत्तिको रूपमा भूमि थुपार्ने भूमाफिया प्रवृत्तिलाई बढावा दिने भन्दै किसान संगठनले यसको खारेजीको माग गरेको हो ।

त्यसैगरि विज्ञप्तिमा राष्ट्रिय भूमि आयोगको विघटनसंगै ल्याइएको भूमि बैकको प्रस्तावले वैज्ञानिक क्रान्तिकारी भूमिसुधारको लक्ष्य तथा कार्यक्रमलाई ध्वस्त गर्ने, विदेशी बहुराष्ट्रिय निगम र स्वदेशी दलाल पुँजीपतिलाई अति सस्तो दरमा भाडामा दिई किसानहरूलाई भूमि अधिकारबाट बञ्चित गर्ने, युवाहरूको विदेश पलायनलाई प्रोत्साहन गर्ने मात्र नभइ अंशवण्डा गर्न र बेचबिखन समेत गर्न नपाउने कारणले लाखौँ युवा तथा किसानहरूले आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना गर्ने उल्लेख गरेका छन ।

साथै तत्काल किसान विरोधी भूमि बैकजस्तो कार्यक्रमलाई अविलम्ब खारेज गर्न जोडदार माग गर्दै तत्काल अधिकारसम्पन्न आयोग गठन गरी भूमिहीन दलित, सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन, अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न ६ किसान संगठनले नेपाल सरकारलाई बुझाएका ६५बुँदे मागहरू अविलम्ब पूरा नगरे संघर्ष उत्रनुको विक्लप नभएको उल्लेख गरिएको छ।

 जारी विज्ञप्त्मिा अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रका अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका अध्यक्ष बलराम बाँस्कोटा, अध्यक्ष, अखिल नेपाल किसान महासंघ अप्फाका अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष सीताराम तामाङ,अखिल नेपाल किसान यूनियनका इञ्चार्ज लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष दुर्गाप्रसाद जैसीले हस्ताक्षर गर्नुभएको छ।