शनिबार, बैशाख १५, २०८१

बिहीबारदेखि सुरु हुने एसइई परीक्षामा पाँच लाख बढी सहभागी हुँदै

एसइई परीक्षामा लेटर ग्रेडिङ निर्देशिका लागू , उतीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने

काठमाडौ चैत १४,
राष्ट्रिय परीक्षा वोर्डले बिहीबार अर्थात चैत १५ देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा [एसइई] को तयारी पुरा भएको जनाएको छ । त्यस्तै बोर्डले यस वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कुल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुँने जनाएको छ ।

त्यस्तै परीक्षाका लागि दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ जसमा सबैभन्दा कम मनाङ, मुस्ताङमा एक एक केन्द्र तथा सबैभन्दा बढी काठमाडौँमा १२७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

साथै यसपटकको परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुँदै गरेको जानकारी दिदै परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्षको एसइई परीक्षामा जापानबाट २३ जना सहभागी हुने बताउनुभयो । उहाँका अनुसार जापानमा रहेको एभरेष्ट स्कुलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षामा सहभाी हुने जानकारी दिनुभयो ।

साथै उहाँले जापानको परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने भएको छ । जापानमा केन्द्र रहेको स्कूलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारीसंगै हुलाकमार्फतमा उत्तर पुस्तिका र इमेलमार्फत प्रश्नपत्र पठाइने बताउनुभयो ।

यसैवीच यसवर्षदेखि एसइई परीक्षामा ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरिएको जनाउँदै वोर्डले प्रस्तुत निर्देशिका अनसार परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने जनाएको छ।  त्यस्तै ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको जनाउँदै वोर्डले एक सय पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनु पर्ने जानकारी दिएको छ ।