शनिबार, बैशाख १५, २०८१

आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुँदै

 काठमाडौं फागुन १३ ,

सरकारले आजदेखि दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ । सन् २०२६ सम्ममा नेपालबाट दादुरा–रुबेला रोग निवारण गर्ने सरकारको लक्ष्य अनुरुप प्रस्तुत अभियानअन्तर्गत ५७ लाख ४२ हजार ९९३ जना बालबालिकालाई खोप दिने लक्ष्य रहेको स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप शाखाले जनाएको छ ।

आजदेखि चैत ७ गतेसम्म चल्ने अभियानलाइ सफल बनाउँन स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप शाखाले स्वास्थ्यकर्मी र स्वयंसेवक गरी करिब १० हजार जनशक्ति परिचालित हुने जनाउँदै अभियानको क्रममा तराईका २१ र काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लाका बालबालिकालाई खोप दिइने तयारी रहेको जानकारी दिउको छ ।

झापा, मोरङ सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, काठमाडौं, भक्तपुर र ललितपुर छन् ।

अभियानका लागि सरकारले ४८ हजार ७९८ वटा खोप केन्द्र तोकेको छ । दादुराको जोखिम बढी रहेका २४ जिल्लामा भने विद्यालयबाटै खोप दिइने तयारी रहेको बताइएको छ ।

त्यस्तै अभियानअन्तर्गत नियमित खोप छुटेका बालबालिकालाई पनि खोप दिइनेछ । १५ महिनाभित्र लगाउनुपर्ने नौवटा खोपका १८ मात्रामध्ये कुनै पनि खोप छुटेको भए सोही केन्द्रबाट उपलब्ध हुने खोप शाखाले जनाएको छ।  डी.पी.टी र हेप बी खोप सोही केन्द्रबाट दिइने र उपलब्ध नभए स्वास्थ्य संस्था रिफर गरिने समेत खोप शाखाले जनाएको छ।