सोमवार, बैशाख १७, २०८१

आयुर्वेद स्वास्थ्यको सेवालाई आम जनमानसमा पु-याउन आवश्यक : प्रजिअ श्रेष्ठ

  भक्तपुर, माघ १४, 

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले आयुर्वेद स्वास्थ्यको सेवालाई आमजनमानसमा पु-याउन स्थानीय पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भक्तपुरमा आयुर्वेद स्वास्थ्य सेवामा सेवाग्राहीको चाप बढ्नु खुसीको विषय भएपनि यसलाई थप परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले शुक्रवार आयोजना गरेको आयुर्वेद स्वास्थ्यको प्रवर्धनका लागि स्थानीय पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै प्रजिअ श्रेष्ठले पछिल्लो समय आयुर्वेद स्वास्थ्य सेवामा विदेशी पर्यटकहरु समेत आकर्षित हुन यस क्षेत्रको लागि सकारात्मक पक्ष भएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. नरेन्द्र प्रसाद गिरीले गत आर्थिक वर्षमा २२ जना विदेशी पाहुनाले आयुर्वेदको स्वास्थ्य सेवा लिएको जानकारी दिनुभएको हो ।

समग्रमा पछिल्लो समय विदेशी पर्यटकले समेत सेवा लिनुले यसमा विदेशी पर्यटक समेत आकर्षित हुन थालेको जनाउसंगै यसवर्ष ५ महिला र एक पुरुष गरी ६ जना विदेशीले सेवा लिई सकेको जानकारी दिनुभयो ।

विदेशी पर्यटकहरुले विशेषगरी नाडीको जाँचका साथै पेटको वायु सम्बन्धी स्वास्थ्य परीक्षण गराउने गरेको जानकारी दिदै केन्द्रमा सुन, चाँदी र पञ्चधातुको सियोबाट हाडजोर्नी, नशा सम्बन्धी दुखाईको लागि गरिने उपचार अग्नीकर्म सेवा र स्तनपायी आमा सेवा समेत दिन शुरु भएको जानकारी दिनुभयो । समग्रमा डा गिरीले चालु आर्थिक वर्षको ६ महिनामा बहिरंग सेवामा ७ हजार ३७४ महिलासहित १२ हजार ३८५ जनालाई सेवा प्रदान संगै सबै प्रकारका सेवा निःशुल्क प्रदान गर्दै आइरहेको र २३ थरी औषधी समेत निःशुल्क वितरण गर्दै आइरहेको बताउनुभयो ।

त्यस्तै नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले सरकारकै कारण आयुर्वेद स्वास्थ्य आझेलमा परेको बताउनुभयो । उहाँले सेवाग्राहीको चाप बढेपनि सो अनुसारको जनशक्ति, सेवा सुविधा बिस्तार र औषधीको नियमित र आवश्यक मात्रामा व्यवस्था गर्न नसक्नु सरकारको कमजोरी भएको औंल्याउँदै पछिल्लो समय भक्तपुरमा आयुर्वेद स्वास्थ्य सेवाबारे जनचासो बढेको र प्रचारात्मक कार्यक्रमले गर्दा पनि सेवाग्राहीको चाप बढेको बताउनुभयो ।

कार्यक्रममा केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद अधिकारी उहाँले केन्द्रको आफ्नै भवन निर्माणको लागि जग्गा प्राप्तीको प्रक्रिया अन्तिम चरणमा पुगेको र प्रदेश सरकारले पनि भक्तपुरमा १६ शैयाको आयुर्वेद अस्पताल बनाउन स्विकृती दिएको जानकारी गराउँदैं सबैको साझा एजेण्डाको रुपमा यसलाई अघि बढाउन सके केही वर्षमा भक्तपुरमा आयुर्वेद अस्पताल निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।