शुक्रबार, बैशाख २८, २०८१

३० तोला सुनसहित विक र घर्ती पक्राउ

 काठमाडौं मंसिर २४,
जिल्ला प्रहरी कार्यालय बर्दियाले स्रोत नखुलेको ३० तोला सुनसहित दुई जनालाई पक्राउ गरेको छ । शनिबार पक्राउ परेका दुई जनासहित सुन र प्रयोग गरिएको कारसमेत बरामद गरी प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बाँके नेपालगन्ज उपमहानगरपालिका १९, राँझाका २९ वर्षीय मोहन विक र कारचालक बाँके राप्ती सोनारी गाउँपालिका २ स्थायी घर भई डुडुवा गाउँपालिका ५, जब्दहवाका ३८ वर्षीय देवेन्द्रबहादुर घर्ती रहेको जिप्रका बर्दियाले जनाएको छ।

त्यस्तै उनीहरुलाई सुनका गरगहनासहित प्रदेश ३९०१९०२३९८१६८ नम्बरको हुन्डाई कारसहित पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बगनाहा, इप्रका मोतीपुरको र प्रहरी चौकी कतर्नियाको संयुक्त टोलीले पूर्वपश्चिम राजमार्गमा जाँच गर्दा उक्त गरगहनासंगै ३ हजार ७ सय ३० नेपाली रूपैयाँ र ४ हजार २० रूपैयाँ भारतीय रूपैयाँसमेत बरामद गरिएको जनाउँदै बरामद गरेको सुनका गहनाको स्रोत खुल्न नसकेका कारण प्रहरीले आवश्यक अनुसन्धान सहित पक्राउ परेका विक र कारचालक घर्तीलाइ थप कारबाहीका लागि भन्सार कार्यालय राजापुरमा बुझाएको जनाएको छ ।