शुक्रबार, बैशाख २८, २०८१

आज आ-आफ्नो परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याउँदै

काठमाडौं कार्तिक ४,
आज वडादसैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरुले आ-आफ्नो परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् । त्यस्तै फुलपातीको दिन आज देशभरका शक्तिपिठमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ ।

  केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ। तर सबै वनस्पति नपाइएको अवस्थामा उखु, अदुवा तथा अन्य फूलका पत्र पनि फूलपातीमा प्रयोग भएको पाइन्छ ।  आजकै दिन काठमाडौंको हनुमानढोका दरबार, गोरखा दरबारलगायत स्थानमा समेत विशेष कार्यक्रमका साथ फूलपाती भित्र्याउने चलन छ ।  फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका छ जना र त्यहाँबाट काठमाडौंको जमलसम्म छ जना ब्राह्मणले ल्याउने प्रचलन रहिआएको छ ।

फूलपाती भित्रयाउन गुरुज्युको पल्टन, नेपाली सेना, नेपाल प्रहरी र निजामती सेवाका उच्चपदस्थ अधिकारीहरु, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङगारिएका कल्स्यौडीहरु र साँस्कृतिक नाचगानसहितको लावालस्कर हनुमानढोकाबाट जमल प्रस्थान गर्ने गर्छ ।

फूलपातीकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले हर्षबढाइँ गर्छ । यसको अवलोकनका लागि राष्ट्रप्रमुख, सरकारप्रमुख तथा अन्य संवैधानिक अंगका प्रमुखको उपस्थिति रहन्छ ।

यसैवीच नवरात्रको सातौं दिन आज कालरात्री भगवतीको तन्त्र विधिवाट गरिने कालरात्री पुजन समेत हुनेभएको छ । कालरात्री पुजनको विशेष महत्व रहेका पाइन्छ । कालरात्रीको पूजा उपासना गर्ने विधि आफैमा गुप्त र फरक९फरक छन् । आजका दिन शक्ति स्वरुपा देवी दुर्गाले कालरात्रीको रुप लिएर सबै असूर शक्तिमाथि बिजय प्राप्त गरेको स्मरणमा कालरात्री पुजनका दिन बली पूजा समेत गर्ने गरिन्छ ।

त्यस्तै दशैंको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवं दशमी तिथिको महत्त्व अधिक रहेको पाइन्छ । सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ।

यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पुजिन्छ ।

घटस्थापनाका दिनदेखि दसैं सुरु हुने भएपनि दसैंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि सुरु हुन्छ । फूलपातीदेखि पूर्णिमासम्म सरकारी कार्यालय पनि बन्द हुने भएकाले घरबाट टाढा रहेका व्यक्तिहरु मूलघरमा दुर्गा भवानीको टीका थाप्न जानेक्रम सुरु हुन्छ ।