शुक्रबार, बैशाख २८, २०८१

भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्रबहादुर बिष्टसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं असार १०,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर बिष्टसहित १२ जना विरुद्ध आज तीन करोड ३३ लाख बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता भोला दाहालले मुद्धा दायर भएका अभियुक्तहरुले आर्थिक वर्ष २०७७–७८ मा प्राकृतिक स्रोतबाट प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौताअनुसार प्राप्त गर्नुपर्ने आयमा निजी व्यवसायीसँग मिलेर भ्रष्टाचार गरेको अनुसन्धानको क्रममा खुलेको जानकारी दिनुभयो ।

त्यस्तै आयोगले आज दायर मुद्धामा तत्कालीन प्रमुख बिष्टले तीन करोड ३३ लाख २२ हजार पाँच सय ८३ बराबरको राजस्व चुहावट गरेको पाइएकाले सोहीबमोजिमको बिगो कायम गरी मुद्दा दायर गरेको छ भने मुद्धा दायर भएको अर्का अभियुक्त तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीविरुद्ध दुई करोड ११ लाख ६५ हजार छ सय आठ बराबरको बिगो दाबी गरिएको छ ।

 त्यस्तै नगरपालिकाका तत्कालीन राजस्व छुटका लागि गठित कार्यदलका संयोजक तथा सदस्य तत्कालीन वडा नं १७ का वडाअध्यक्ष हिमालबहादुर चन्द, प्रशासकीय अधिकृत हरिसिंह धामी, शाखा अधिकृत नरबहादुर शाह तथा इञ्जिनियर हिमालयसिंह ऐर र गोविन्दराज उपाध्याय विरुद्ध पनि ८५ लाख ५६ हजार तीन सय नौ बराबरको बिगो दाबी जारी विज्ञप्तिमा उल्ल्ेख गरिएको छ ।

 त्यस्तै विज्ञप्तिमा गलत विवरणका आधारमा राजस्वमा असर पार्ने कार्यमा संलग्न प्रतिवादीहरू हिमालय सिंह ऐर, हरिसिंह धामी र नरबहादुर शाहले सत्यतथ्य विवरण नदिई कबोल अङ्कमा गरेको सिफारिस विपरीत हुने गरी सम्झौता गराउँने र सम्भौताको क्रममा साक्षी बस्ने आयोगले ऐर र उपाध्यायविरुद्ध रु दुई करोड ११ लाख ६५ हजार छ सय आठ बराबरको बिगो दाबी गरेको छ।

साथै आयोगले भवानी कन्स्ट्रक्सनका सञ्चालक केशवराज भट्ट, पुष्पराज भट्ट, सो कम्पनीका आधिकारिक प्रतिनिधि दिवाकर भट्ट, ईश्वरीप्रसाद भट्टको हकदार खगेश्वरी भट्टका विरुद्ध तीन करोड ३३ लाख २२ हजार पाँच सय ८३ बराबरको बिगो दाबी गरिएको छ।