शनिबार, बैशाख २९, २०८१

प्रेस सेन्टर नेपालको ध्यानाकर्षण पत्र बुझ्दै प्रम प्रचण्डले भने- प्रेस सम्वद्ध मागप्रति सरकार गम्भीर छ

काठमाडौं जेठ ३१,
प्रेस सेन्टर नेपालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।  जनपक्षिय पत्रकारिता, प्रेस स्वतन्त्रता र परिवर्तनको पक्षमा क्रियाशील प्रेस सेन्टर नेपालको हाले सम्पन्न १९ साधारणसभाको निर्णय अनुसार केन्द्रीय समितिका अध्यक्ष विष्णु सपकोटाको नेतृत्वमा प्रधानमन्त्रीको निवास बालुवाटारमा विहान ध्यानकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा सरकारले लिएका जनपक्षीय निर्णय र कदमप्रति एक्यवद्वतासहित, प्रेस स्वतन्त्रता, न्युनतम पारिश्रमिक वृद्वि, पत्रकारका समस्याहरू, समानुपातिक विज्ञापन लागू गर्ने र शान्ति प्रक्रिया लगायतका विषयहरू समेटिएको जानकारी दिदै सेन्टरका महासचिव सन्तोष पौडेलले अन्य प्रदेश, जिल्ला र स्थानीय तहमा पनि आजै ध्यानाकर्षण पत्र बुझाइने जानकारी दिनुभयो ।

ध्यानकर्षण पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले प्रेस सम्बद्ध मागहरुप्रति सरकार गम्भीर भएको बताउनुभयो । उहाँले सरकारले पत्रमा उल्लेख गरिएको विषयहरुप्रति सरकरको गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, साना लगानीका स्वरोजगार मिडियाको संरक्षण, समानुपातिक विज्ञापन नीतिलाई व्यवहारमा कार्यान्वयन गर्ने विषयमा सरकार प्रतिवद्ध र गम्भीर रहेको बताउनुभयो ।

त्यस्तै परिवर्तन र जनपक्षीय पत्रकारीतामा प्रेस सेन्टरले खेलेको भुमिकाको प्रशंसा गर्दै प्रधानमनत्रीले अहिले परिवर्तनविरोधीले फैलाएको भ्रम र वितण्डाहरुको डटेर प्रतिवाद गर्न अपील गर्दै भ्रष्टाचारविरुद्ध सरकारले सम्झौताहिन लडाई लडिरहेको बताउँदै त्यसको लागि सरकार पछि नहट्ने बरु सरकार छाड्न तयार हुने बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष तथा पुर्व सभामुख अग्नी सापकोटा, प्रधानमन्त्रीका राजनितिक सल्लाहाकार हरिबोल गजुरेल, प्रेस सेन्टरका इन्चार्ज महेश्वर दाहाललगायतको उपस्थिति रहेको थियो ।