शनिबार, बैशाख १५, २०८१

शितल निवासबाट संसद भवन जाँदा कुनै तामझाम नगर्न राष्ट्रपति पौडेलको निर्देशन

काठमाडौं जेठ ५,
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज शुक्रबार सार्वजनिक गर्दैछ । दिउँसो ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन यसअघि राष्ट्रपतिको सवारीको बेला बाटो खाली गराएर अरु गाडी चल्न नदिने र सडक पेटीमा सर्वसाधारणको आवतजावतमाथि समेत रोक लगाउने गरिन्थ्यो ।

तर यसपटक भने राष्ट्रपति पौडेल शितल निवासबाट संसद भवन जाँदा सडकमा धेरैबेर अरु गाडी नरोकिने र कुनै तामझाम नहुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

सवारीका क्रममा सडक अवरोध हुने र नागरिकले सास्ती पाउने गरी तयारी नगर्न सुरक्षा निकायलाई राष्ट्रपतिले निर्देशन दिएको पोखरेलले बताउँदै राष्ट्रपति पौडेलले आफ्नो सवारीका बेला अरु गाडी पनि चल्न दिन आग्रह गरेको बताउनुभयो ।