सोमवार, बैशाख १७, २०८१

प्रधानमन्त्री प्रचण्डले प्रत्येक शुक्रबार नेता कार्यकर्तासँग भेट गर्ने

काठमाडौँ  वैशाख २,
नयाँ वर्षको शुभारम्भसंगै नेकपा माओवादी केन्द्रले अब नागरिकसँग नियमित रुपमा भेटघाट तथा अन्तरक्रिया गर्ने कार्य सूची तय गरेको छ ।

पार्टीका तर्फबाट आज सार्वजनिक गरिएको सो योजनाअनुसार हरेक साताको शुक्रबार प्रधानमन्त्री प्रचण्डले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न ४ देखि साँझ छ बजेसम्म नागरिकसँग सरकारको काम कारबाहीलगायतका विषयमा छलफल तथा अन्तरक्रिया एवम् भेटघाटको कार्ययोजना नै बनाएर कार्यान्वयन सुरु गरिएको हो ।

यस्तै, हरेक साताको आइतबार ४ देखि ५ बजेसम्म संसदीय दलको कार्यालय सिंहदरबारमा पनि प्रधानमन्त्रीले भेटघाट गर्नेगरी कार्यतालिका तय गरिएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले तयार पारेको योजनाअनुसार सातै दिन मन्त्री, सल्लाहकार तथा विज्ञले भेटघाट तथा नागरिकको समस्या समाधान गर्नेगरी कार्यालय समय भन्दा पछि प्रधानमन्त्री तथा मन्त्रीहरूलाई काममा व्यवधान नआओस् भनेर माओवादी केन्द्रले कार्यालय समय बाहिर पार्टी कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई भेटघाटको व्यवस्था मिलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।