सोमवार, बैशाख १७, २०८१

बिस्केट जात्राको छैठौ दिन :थिमिको बालकुमारीमा बिहानै ३२ खटसहितको सिन्दुर जात्रा मनाइदै

काठमाडौँ वैशाख २,

बिस्केट जात्राको छैठौ दिन आज मध्यपुर थिमिको बालकुमारीमा एकाबिहानै ३२ खटसहितको सिन्दुर जात्रा र दिउँसो बोडेमा जिब्रो छेड्ने जात्रा मनाइने भएकोछ । सिन्दुर जात्राको क्रममा बालकुमारी र सिद्धिकालीको गणहरुसहितका खट ल्याएर बालकुमारी प्रवेश गराएपछि जात्राको सुभारम्भ हुने गर्दछ । जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ती लिएर पमा नाइकेको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइने परम्परा रहिआएको छ।

त्यस्तै सिन्दुर जात्रा मनाइने क्रममा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन बोकेको यो जात्रामा धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने गरिन्छ ।

यसैवीच आजै थिमीको बोडेमा प्रसिद्ध जिब्रो छेड्ने जात्रा पनि मनाइन्छ । जिब्रो छेड्ने जात्राका लागि कर्मी र नाइकेले विभिन्न देवगणको पूजा गरेपछि जिब्रो छेड्ने जात्रा गर्न दिउँसो बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले सयौं मानिसहरूकै अगाडि जिब्रो छेड्ने गर्दछ ।