शनिबार, बैशाख १५, २०८१

आयोगले बुझायो राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन

काठमाडौं चैत ५,
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आज राष्ट्रपति भवन शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन् । गत शुक्रवार सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ६२८ मतभारमध्ये उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादव ३० हजार ३२८ मतभार सहित निर्वाचित हुनुभएको हो । नवनिर्वाचित उपराष्ट्रपति यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

 प्रतिवेदन ग्रहण गर्दै निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले लोकतन्त्र परिपक्क हुँदै गएको बतउादै राष्ट्रपति पौडेलले नेपालको संविधानको भाग २४ धारा २४६ मा संविधान र संघीय कानूनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेशसभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्नु आयोगको प्रमुख कार्य रहने व्यवस्थाबमोजिम आयोगले ती निर्वाचनहरू स्वच्छ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्णरूपमा कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगटोली धन्यवाद ज्ञापन गर्नुभयो ।

त्यसअवसरमा निर्वाचन आयुक्तहरू रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, आयोगका सचिव गोकर्णमणि दुवाडीसहित सहभागी भएका थिए ।