शुक्रबार, बैशाख १४, २०८१

आज उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदै

काठमाडौं फागुन २७,
निर्वाचन आयोगले आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचन प्रयोजनका लागि उम्मेदवारी दर्ता गरिँदै छ। आयोगले नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको छ।

यस्तै दर्ता भएका उम्मेदवारको सूची प्रकाशन दिउँसो २ बजेदेखि ३ बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म रहने गरी निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

यस्तै मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन ४ बजेदेखि ५ बजेसम्म गर्ने गरी कार्यक्रम तय गरेको छ ।

उपराष्ट्रपतिमा मनोनयनपत्र दर्ताको क्रममा नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी दर्ता गर्न निर्वाचन अधिकृतलाई आयोगले शुक्रबारै निर्देशन दिइसकेको छ।