शनिबार, बैशाख १५, २०८१

प्रतिनिधि सभातर्फ १ हजार ९६१ तथा प्रदेश सभातर्फ २ हजार ३२४ जना उम्मेदवारहरूको धरौटी रकम जफत

काठमाडौं मंसिर २८,
निर्वाचन आयोगले आज पत्रकार सम्मेलन मार्फत गत मंसिर ४ गते सम्पन्न् आम निर्वाचन अन्र्तगत समानुपातिक निर्वाचन प्रणालीको परिणाम घोषणा सँगै प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा घोषणा गरेको छ।

निर्वाचनको अन्तिम परिणाम अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएको जानकारी आयोगले दिएकोछ ।

साथै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था बमोजिम प्रतिनिधि सभातर्फ १ हजार ९६१ जना तथा प्रदेश सभातर्फ २ हजार ३२४ जना उम्मेदवारहरूको धरौटी रकम जफत भएको जानकारी दिएकोछ ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रतिनिधि सभातर्फ बन्दसूची पेश गर्ने ४७ दलमध्ये ४० वटा दल र प्रदेश सभातर्फ प्रदेश नं. १ मा ३०, मधेश प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको जनाएको छ ।