शनिबार, बैशाख ८, २०८१

आम निर्वाचनको अन्तिम परिणाम घोषणा, राष्ट्रपतिसमक्ष विहिवार निर्वाचन प्रतिवेदन बुझाइने

काठमाडौं मंसिर २८,
निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न् आम निर्वाचन अन्र्तगत समानुपातिक निर्वाचन प्रणालीको परिणाम घोषणा सँगै प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको छ ।

निर्वाचनको परिणाम घोषणा गर्न आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा परिणाम घोषणाको जानकारीदिदै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपति समक्ष र प्रदेश सभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधानबमोजिम २०७९ मंसिर २९ गते सम्माननीय राष्ट्रपतिज्यूसमक्ष प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को परिणाम सहितको प्रतिवेदन पेश गरिने बताउनुभयो ।
त्यस्तै उहाँले आगामी पौष २ गते प्रदेश सभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका माननीय प्रदेश प्रमुखज्यूहरूसमक्ष आयोगका पदाधिकारीहरूबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको जानकारी प्रमुख आयुक्त थपलियाले दिनुभयो । साथै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिने बताउनुभयो ।

आयोगले प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएको जनाउ सहित यसमध्ये प्रतिनिधि सभातर्फ पुरुष १८४ जना र महिला ९१ जना निर्वाचित भएको जानकारीदिएको छ । त्यस्तै प्रदेश सभातर्फ पुरुष ३५० जना र महिला २०० जना
निर्वाचित भएको जनाएको छ।

त्यसैगरि प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएको जनाएको छ।