सोमवार, बैशाख १७, २०८१

समानुपातिक मतपरिणाम :पहिलोमा एमाले,दोस्रोमा काँग्रेस

काठमाडौं मंसिर १०,
निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न आम निर्वाचन अन्र्तगत समानुपातिक निर्वाचन प्रणाली तर्फको आज साँझ ५ बजेर ४० मिनेटको समय सिमा सम्म खसेको कुल मत मध्ये ७६ लाख १२ हजार छ सय ९८ मतगणना भइसकेको जनाएको छ।

त्यस्तै गणना भएको मतसख्या अनुसार आयोगले प्रणालीमार्फत निर्वाचनमा सहभागी ४७ राजनीतिक दलमध्ये सबैभन्दा बढी नेकपा एमालेले २० लाख ८९ हजार ७२ मत प्राप्त गरेको जनाएको छ ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २० लाख १६ हजार छ सय २५ मत तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले आठ लाख ९१ हजार आठ सय आठ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले आठ लाख ५४ हजार आठ सय ७१ मत प्राप्त गरेको जनाएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ५८ हजार चार सय ५९ मत, जसपाले दुई लाख ४८ हजार नौ सय ६८ मत, नेकपा एसले एक लाख ९३ हजार नौ सय ६४ मत, जनमत पार्टीले एक लाख ७८ हजार दुई सय ३२ मत, नागरिक उन्मुक्ति पार्टीले एक लाख ७५ हजार आठ सय ५९ मत, लोसपाले एक लाख चार हजार तीन सय ४९ मत, नेमकिपाले ६८ हजार तीन सय आठ मत प्राप्त गरेको जनाएको छ ।

स्मरण रहोस समानुपातिक निर्वाचन प्रणालीमार्फत कूल एक सय १० प्रतिनिधिसभा सदस्य चुनिने संवैधानिक व्यवस्था रहेको छ। यसका लागि सहभगीदलहरुके तर्फबाट दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।