सोमवार, बैशाख १७, २०८१

आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने सभामुख सापकोटाको घोषणा

 काठमाडौं असोज २२,
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ । सिंहदरवारमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै सभामुख सापकोटाले यस्तो घोषणा गर्नु भएको हो।

पत्रकार सम्मेलनमा सभामुख सापकोटाले लगातार तीन पटकसम्म आफूलाई निर्वाचित गराएर राष्ट्रिय भूमिका निर्वाह गर्ने र जनताको सेवा गर्ने अवसर दिएकोमा सिन्धुपाल्चोकका मतदाताप्रति आभार व्यक्त गर्दै आफु आगामी दिनमा देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील रहने उद्घोष समेत गर्नुभयो । साथै उहाँले राज्य र जनताले आवश्यक ठानेमा जुनसुकै जिम्मेवारी वहन गर्न तयार रहने प्रष्ट पार्दै आजैबाट सरकारी सेवा सुविधा छोड्ने र निजी निवासमा फर्कर्ने बताउनुभयो ।

स्मरण रहोस सभामुख सापकोटा २०६४ को पहिलो संविधान सभा र २०७० को दोस्रो संविधान सभामा सिन्धुपाल्चोक क्षेत्र २ बाट निर्वाचित हुनुभएको थियो । २०७४ को निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।