सोमवार, बैशाख १७, २०८१

क्रिकेटर लामिछानेविरुद्ध पक्राउ पूर्जी जारीसंगै राष्ट्रिय टिमबाट समेत निलम्बन

काठमाडौं भाद्र २३,
वलात्कारको आरोप लागेको राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउको अनुमति दिएको हो ।राष्ट्रिय टोलीका कप्तान क्रिकेटर लामिछाने विरुद्ध १७ वर्षीया नाबालिगले गत मंगलबार भाद्र २१ गते जबरजस्ती करणीको आरोपसहित मुद्दा दर्ता गरेपछि प्रहरीले सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी गर्न अदालतलाई निवेदन दिएसंगै अदालतले पक्राउको अनुमति दिएको हो ।

त्यस्तै  मुलुकी अपराध [संहिता] ऐन, २०७४ को परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा हाल वेष्ट इन्डिजमा क्यारेबियन क्रिकेट लिग खेलिरहेका लामिछाने उपर थप अनुसन्धान गर्नका लागि जिल्ला अदालतकाठमाडौंबाट पक्राउ पुर्जी जारी भएको,’ जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैवीच क्रिकेट एसोसिएशन नेपाल [क्यान]ले राष्ट्रिय क्रिकेटका कप्तान लामिछानेलाई निलम्बन गरेको छ। क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम शाहले जारी विज्ञप्तिमार्फत जानकारी दिएको हो । यसअघि आकस्मिक बैठक मार्फत प्रस्तुत प्रकरणमा केहि गरि रहनु नर्पने जनाउ दिएको क्यानले प्रहरीले दर्ता भएको जाहेरी उपर आवश्यक अनुसन्धानको लागि अदालतबाट पक्राउ अनुमति लिएसंगै निलम्बन गरेको हो।