शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं महानगरको कार्यकारीमा अधिकारी

काठमाडौँ भाद्र २२ ,
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा आज बसन्त अधिकारीले पदबहाली गर्नुभएको छ । भाद्र १६ गतेको मन्त्री स्तरीय निर्णयबाट अधिकारी महानगरको प्रमुख प्रशाककीय अधिकृतमा नियुक्त हुनुभएको हो । उहाँ यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

महानगरमा पदवहाली गर्दै उहाँले प्रशासनको अभिभावकका रुपमा काम गर्ने बताउनुभयो । ‘नीतिमा प्रमुख, उपप्रमुख, कार्यपालिका र नगरसभाको अभिभावकत्व रहन्छ । म प्रशासनको अभिभावकत्व गर्छु । कार्य सम्पादन सम्झौता गरेर अधिकार प्रत्यायोजन गर्छु र विभागको प्रगति मूल्याङ्कन गर्छु ।’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, ‘वडा सशक्त हुनुपर्छ ।

अधिकारी २०४९ सालमा सहलेखापालबाट सेवा प्रवेश गर्नुभएको हो । २०५२ सालमा महालेखा परीक्षकको कार्यालय, २०५३ सालमा राष्ट्र बैङ्कको सेवा हुँदै २०५५ सालमा शाखा अधिकृत हुनुभयो । २०६२ सालमा उपसचिव र २०७४ सालमा सहसचिव हुनुभएका अधिकारीले स्थानीय, गृह प्रशासन, भूमि व्यवस्था, स्वास्थ्य, योजना आयोग, यातायात व्यवस्था, लोकसेवा आयोगलगायत विभिन्न सेवा र क्षेत्रको अनुभव हासिल गर्नुभएको छ ।