शुक्रबार, बैशाख १४, २०८१

न्युजिल्याण्ड पठाईदिन्छु भनी ६३ लाख ठगी गर्ने पौडेल पक्राउ

 काठमाडौं असार २२
नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले न्युजिल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-३ घुम्ती बस्ने नुवाकोट बिदुर नगरपालिका-७ घर भएकी दिया भन्ने २७ वर्षीया शोभा पौडेललाई मंगलबार पक्राउ गरेको छ ।

प्रहरीका अनुसार शोभाले न्युजिल्याण्डको प्रतिष्ठित कृषि कम्पनीमा फ्रुट किपिङको काममा लगाइदिन्छु मासिक १ लाख ७० हजार रूपैयाँसम्म तलब हुन्छ र त्यसका लागि प्रतिव्यक्ति १२ लाख ५० हजार रूपैयाँ लाग्छ भनि प्रलोभनमा पारी ९ जना पीडितहरूबाट ६३ लाख २० हजार रूपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरि फरार रहेको जनाएको छ।

पिडितको जाहेरीपछि प्रहरीले आवश्यक अनुसन्धानको क्रममा उनलाई बुढानिलकण्ठ नगरपालिका कपन निलोपुलबाट पक्राउ गरेको जनाउँदै हो । थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा चलान गरिएको जनाएको छ।