शुक्रबार, बैशाख १४, २०८१

७७ वटै जिल्लाका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं बैशाख ८,

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि मुलुकका ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जनाएको छ । आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको स्थानीय तहको केन्द्र र निर्वाचन अधिकृतले सम्बन्धित पालिकाको केन्द्रमा कार्यालय स्थापना भएको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत र ७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालयले वैशाख १० गतेसम्म व्यवस्थापकीय कार्य सम्पन्न गरि बैशाख ११ र १२ गते उम्मेद्वारको मनोनयनको कार्यक्रम सुचारु गर्ने बताउनुभयो ।

त्यस्तै आयोगले जिल्लामा पठाइने मतपत्रको ढुवानीको सुरक्षा नेपाली सेनाले गर्ने र अन्य सामग्रीको नेपाल प्रहरीले सुरक्षा गर्नेछ । निर्वाचनमा आयोगका कर्मचारीसमेत सहभागी हुने र ढुवानी सवारीको जिपिएस ट्र्याकिङ गर्ने व्यवस्था मिलाइएको जानकारीदिएको छ।

साथै ५३ जिल्लाको १ करोड १९ लाख मतपत्र छपाइ भइसकेको जानकारी दिदै आयोगले स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्न ४४ वटा संस्थालाई अनुमति दिएको जनाएको छ ।