बिहिबार, बैशाख १३, २०८१

महासंघको निर्वाचन लक्षित ४ बुँदे निर्णय : पदाधिकारी वा सदस्यहरू उम्मेदवार बने स्वतः पद मुक्त

काठमाडौं बैशाख ८,
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आज बसेको पाँचौं पूर्ण बैठकले भर्चुअल आसन्न स्थानीय तह निर्वाचन लक्षित हुँदै विभिन्न ४ बुँदे निर्णय गरेको छ।

महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा सम्पन्न आजको बैठकले नेपाल पत्रकार महासंघ नेपाली पत्रकारको साझा संस्था भएका कारण आसन्न स्थानीय निर्वाचनमा महासंघका सबै सदस्यहरूलाई पत्रकार आचारसंहिताको पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न अपिल गरेको छ।

त्यस्तै बैठकले महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न आहृवान गर्दै महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुने निर्णय गरेको छ।

त्यस्तै निर्वाचनका समयमा महासंघका सदस्यहरूको भूमिकाको अनुगमन गरी यथार्थ विवरण संकलनका लागि बैठकले महासंघको आचारसंहिता अनुगमन विभाग र अनुशासन समितिलाई जिम्मेवारी दिएको महासचिव रोसन पुरीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।