शुक्रबार, बैशाख १४, २०८१

स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा राष्ट्रपति भण्डारीको जोड

काठमाडौँ बैशाख १,
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले जारी गर्नुभ भएको शुभकामना सन्देशमा विगतको अनुभवबाट शिक्षा लिएर आगामी वर्षको यात्रा तय गर्न आवश्यक रहेको बताउनुभएको छ ।

त्यस्तै उहाँले ठूलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सिर्जना गर्ने नीति कार्यान्वयन गर्न ढिलाइ गरिनु नहुनेमा जोड दिदै बढ्दो व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने बताउनुभएको छ।

साथै विक्रम संवत् २०७९ निर्वाचनको वर्ष बन्न गइरहेको छ । स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा जनताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनु लोकतन्त्रको उच्चतम् अभ्यास भएको हुनाले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई सोहीअनुरूप सम्पन्न गर्नु हामी सबैको जिम्मेवारी रहेको उल्लेख गर्दै वर्ष २०७९ ले देशमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गरी समाजमा विद्यमान अन्धविश्वास, कुरीति एवं कुसंस्कारलाई हटाउँदै न्यायपूर्ण सभ्य र सुसंस्कृत समाज निर्माण गर्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने सबैमा शुभकामना अभिव्यक्त गर्नुभएको छ।

यसैवीच उपराष्ट्रपति नन्दबहादुर पुन , प्रधानमन्त्री शेरबहादुर देउवा , सभामुख अग्निप्रसाद सापकोटा लगायत मुलुका उच्च पदस्थ व्यक्ति विशेषले नयाँ वर्षको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देश दिनुभएको छ।