शनिबार, बैशाख १५, २०८१

नक्कली पिसिआर रिपोर्ट बनाउने नागरिक कम्युनिटी र कान्तिपुर अस्पतालका कर्मचारीहरु पक्राउ

काठमाडौं माघ १९,
नेपाल प्रहरीको महानगरीय अपराध महाशाले कोभिड परिक्षणको नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई मंगलबार पक्राउ गरेसंगै अस्पतालका कर्मचारी नै स्वाब बिनै नक्कली पिसिआर रिपोर्ट बनाउने अवैध कार्यमा संलग्न रहेको खुलासा भएको छ। महानगरीय अपराध महाशाखाले वैदेशिक रोजगारमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्यधिक बढी रकम लिई स्वाबको नमूनाबिनै रिपोर्ट बनाइदिने गरेको अभियोगमा भक्तपुरको मध्यपुरथिमीस्थित कौशलटारमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालका कर्मचारी रहेको जनाएको छ।

महाशाखाका अनुसार पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका -३ कौशलटारस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडका कर्मचारी ललितपुर ग्वार्को बस्ने धनुषा बिदेह नगरपालिकाका- २५ वर्षीय रोशन कुमार छिट्टान र सोही हस्पिटलका ल्याब प्रबन्धक भक्तपुर कौशलटार बस्ने सर्लाही बलरा नगरपालिकाका २४ वर्षीय प्रसन्न कुमार झा तथा काठमाडौं तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रालिका कर्मचारीहरू काठमाडौं गौशाला बस्ने धनुषा छिरेश्वर नगरपालिकाका २५ वर्षीय नागेन्द्र यादव र भक्तपुर सूर्यबिनायक नगरपालिका सल्लाघारी बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिकाका २९ वर्षीय माधव मैनाली रहेको जनाएको छ ।

नागरिक कम्युनिटी टिचिङ हस्पिटल र कान्तिपुर अस्पतालका कर्मचारीले बैदेशिक रोजगारमा जाने ब्यक्तिहरूका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट अत्यधिक बढी रकम लिई स्वाबको नमूनासमेत नलिई नक्कली रिपोर्ट बनाइदिने गरेको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्दा प्रहरीले रोशन कुमारलाई नागरिक कम्युनिटी टिचिङ हस्पिटलबाट जारी भएका ८ थान नक्कली पिसिआर रिपोर्टसहित प्रसन्न कुमारलाई र कान्तिपुर अस्पतालका नागेन्द्र कुमार माधव मैनालीलाई १७ थान नक्कली पिसीआर रिपोर्ट अस्पतालबाट पक्राउ गरेको जनाएकोछ ।

साथै प्रहरीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधि समेतको रोहबारमा प्रहरीले दुवै अस्पतालका ल्याबबाट पिसिआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएका कम्प्यूटर लगायतका उपकरण, पिसिआर टेष्ट दर्ता रजिष्टर, नक्कली पिसिआर रिपोर्ट र रसिद प्याडहरू समेत बरामद गरेको छ भने दुवै अस्पतालका पिसिआर ल्याबहरू सिल गरी पिसिआर सम्बन्धी सबै सेवा हाललाई बन्द गरिएको छ ।

उक्त अस्पतालले व्यक्तिको स्वाब र परीक्षणबिनै नेगेटिभ पिसिआर रिपोर्ट दिने गरेको, ल्याबमा कार्यरत भनिएका बिशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी डिजिटल सिग्नेचर प्रयोग गरी रिपोर्ट दिने गरेको, पिसिआर पोजेटिभ देखिएका स्याम्पलहरूको सिटिभ्यालु तथा मिति तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको जनाउदै केही बिचौलियालाई र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा बिदेश जाने व्यक्तिहरूलाई पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिने भनि प्रतिव्यक्ति १० हजार रुपैयाँसम्म असुल गर्ने गरेको तथा क्यूआर कोडबाट स्क्यान गरी हेर्न मिल्ने गरी सक्कली जस्तै रिपोर्ट बनाउने गरेको खुल्न आएको छ । साथै हाल फरार दुवै अस्पतालका ल्याबका सञ्चालकहरू तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।