शुक्रबार, बैशाख १४, २०८१

सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रमको विस्तृत परियोजना हस्तान्तरण

काठमाडौँ माघ ६,

सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम निर्माण गर्न काठमाडौँ महानगरपालिकाले नागार्जुन नगरपालिकालाई विस्तृत परियोजना प्रतिवेदन हस्तान्तरण गरेको छ । आज रााष्ट्रिय सभा गृहमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतलाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । भवन निर्माणका लागि गएको असोज २० गते त्रिपक्षीय सम्झौता भएको थियो ।

सम्झौता मुताविक नागार्जुन नगरपालिकाले जग्गा उपलब्ध गराउने, भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक अनुदान दिने, यसबाट नागार्जुन नगरपालिकाले खरिद ऐनको प्रक्रिया अवलम्बन गरेर भवन निर्माण गर्ने र मानव सेवा आश्रमले सेवा सञ्चालन गर्ने समझदारी रहेको छ ।

प्रतिवेदनअनुसार ९८४ बर्गमिटर प्लिन्थ एरिया भएको भवन १ हजार ९५४ बर्ग मिटर क्षेत्रफलमा निर्माण हुने भवनको लागत करीव ११ करोड रुपैयाँको हुनेछ । सहरी योजना आयोगका सदस्य सजीव शाक्यकाअनुसार भवनमा १ सय जना अट्ने क्षमता भएको १ र ४० जना अट्ने एउटा गरी २ वटा सभा कक्ष र २० जना अट्ने बैठक कक्ष हुनेछन् । १८० जना सहयोगापेक्षी राख्न सकिने भवनमा २६ जना स्वयमसेवक बस्न सक्नेछन् । भवनमा १० वटा कार र ४० वटा मोटरसाइकल अट्ने पार्किङ्ग सुविधा हुनेछ ।

नागार्जुन नगरपालिका वडा नं. ६ सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको कि. नं. ८२ र १८९ को करीब १८ रोपनी जग्गामा नगरपालिकाकै नाममा आश्रम निर्माण गरिनेछ । भवनको नाम ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ हुनेछ । यहाँ रहने व्यक्तिहरुको लिंग, उमेर समूह, शारीरिक तथा मानसिक अवस्था, आवश्यकता र प्रकृतिजस्ता अवस्थाका आधारमा छुट््याएर अधिकतम मानवीयताको प्रवर्धन गर्ने गरी संरचना निर्माण गरिने परियोजनामा उल्लेख गरिएको छ ।

डीपीआर हस्तान्तरण कार्यक्रममा वोल्दै महानगर प्रमुख शाक्यले देशको स्वाधीनताका लागि प्राण आहुती गर्ने सहिद धर्मभक्त माथेकाका नाममा मानव सेवा आश्रम र प्रजातन्त्र प्राप्तिका लागि नेतृत्व गर्ने गणेशमानका नाममा पार्क निर्माण गर्न नागार्जुन नगरसँग हस्ताक्षर गर्न पाएको खुशी व्यक्त गर्दै ‘शासन परिवर्तनको लाभ समुदायका तल्लो तहमा पुगोस् भन्ने सहिदहरुको चाहनालाइ मुर्तता दिन पाउनु आफैमा गौरवको विषय भएको बताउनुभयो ।

त्यस्तै नागार्जुन नगरका प्रमुख बस्नेतले, सहिदको बलिदानीबाट अहिलेको व्यवस्था प्राप्त भएकोले काठमाडौँ महानगरको सहयोगमा सहिदकै नाममा सामाजिक काम थालिएको बताउँनुभयो ।