सोमवार, बैशाख १७, २०८१

प्रधानन्यायाधीशको मन्त्री कोटा प्रकरण :अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुःखद : सर्वोच्च

काठमाडौँ असोज १८,

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा प्रधानन्याधीश चोलेन्द्रशमशेर राणाले समेत मन्त्रीको कोटा मागेको विषय आइतबार सार्वजनिक भएसंगै चौतर्फी अनेकन खैलावैला भएको छ।

सेतोपाटी अनलाइनले उक्त समाचार सार्वजनिक गरेसंगै शुरु भएको यो चर्चा र प्रन्या राणाको कोटामा मन्त्री बन्ने तयारीमा रहेको व्यक्ति अरु कोहि नभएर सर्वोच्चमा १५ वर्षदेखि सूचना प्रविधिका क्षेत्रमा काम गर्दै आइरहेका दीपक तिमल्सिना भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार तिमल्सिना स्वास्थ्य क्षेत्रमा लामो समयदेखि उपकरण तथा स्वास्थ्य सामग्रीसँगको व्यवासाय गर्दै आइरहेका व्यापारी विशाल पण्डितसँग नजिक रहेकोमात्र नभइ व्यवसायी पण्डितका कुनै पनि मुद्दा मिलाउन सक्रिय रहेको बताइन्छ ।

यसैवीच सर्वोच्चका प्रवक्ता बाबुराम दाहालद्वारा आज एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई असान्दर्भिक रुपमा जोडिएको भन्दै गम्भीर आपत्ती सहितको ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश जबजराले भाग खोजेको समाचार सार्वजनिक भए संगै सर्वोच्चका प्रवक्ता दाहालले विज्ञप्तिमार्फत प्रकाशित समाचार प्रति असहमति जनाएको हो ।

त्यस्तै जारी विज्ञप्तिमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरिएको उल्लेख गर्दै संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुःखद र खेदजन्य विषय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।