शनिबार, बैशाख १५, २०८१

कोभिड संक्रमितको उचित उपचारको व्यवस्था गर्न भक्तपुर कांँग्रेसको माग

भक्तपुर बैशाख २७,
भक्तपुर कांग्रेस जिल्ला कार्यसमितिले कोभिड संक्रमितको उचित उपचार, आइसोलेसन केन्द्र र अस्पताल केन्द्रमा आईसीयु तथा अक्सिजनको आवश्यक व्यवस्थापन गर्न माग गरेको छ । कांग्रेसले सोमवार जारी विज्ञप्ति मार्फत यसको लागि आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको जनाएको छ ।

जिल्ला सभापति दुर्लभ थापाले जारी गरेको विज्ञप्तिमा ‘कोभिडबाट आक्रान्त आम नेपालीको सहज जीवनयापन, स्वास्थ्य जीवनको ब्यबस्थापन गर्न, जनताको गाँसबासको उचित ब्यबस्थापन गर्न, स्वास्थ्य सामग्रीको खरिदमा भएको अनियमितताको छानविन गरी दोषीमाथी कारवाही गर्न, भक्तपुरका निजि तथा सरकारी अस्पतालमा न्यूनतम स्वास्थ्य सेवाको ब्यवस्थापन गर्न, भएका सवै स्वास्थ्य जनशक्तिलाई भरपुर प्रयोग गर्न, नगरपालिकाहरुलाई क्वारेन्टाईन, आईसोलेसन वार्ड निर्माण तथा सञ्चालन गर्न तथा तिनको अनुगमन गर्न बिशेषज्ञहरुको टोली बनाउन समेत माग गरेको उल्लेख गरिएको छ ।

कांग्रेसले अक्सिजनको ब्यबस्थापन गर्न नसकी भर्ना भएका बिरामीलाई जर्वजस्ती अस्पतालबाट अन्यन्त्र पठाएको र भक्तपुरमै अक्सिजन र आईसीयु नपाएर कोरोना संक्रमितको मृत्यु भएको दुःखद घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । साथै सो घटनाले अत्यन्त पिडाबोध भएको जनाएको छ । ‘हामी अस्पताल संचालकहरुलाई त्यस्ता गतिबिधि नगर्न सचेत गराउदछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कांग्रेसले विगतमा स्थानीय तहले सञ्चालन गरेका केही आइसोलेसन र क्वारेन्टिनहरु हाल बन्द भएको र ती केन्द्रहरु पुनः सञ्चालन गर्न आग्रह गरेको छ । ती केन्द्र सञ्चालन गर्दा विगतमा अनियमितता भएको र त्यसको छानविन हुनुपर्ने माग गर्दै कांग्रेसले मानवीय संकटका बेला स्वास्थ्य सामग्री खरिद र खोप व्यवस्थापनमा भएका अनियमिततामा संलग्नलाई कारवाही गर्न जोडदार माग गरेको छ ।

कांग्रेसले महामारीबाट आम नेपालीलाई सुरक्षित बनाउन रातदिन नभनी आफ्नो ज्यानको बाजी समेत राखी संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनतालाई सूसुचित बनाउन अहोरात्र खटिने पत्रकारलाई धन्यवाद दिँदै उनीहरुको स्वास्थ्य सुरक्षालगायतको बन्दोबस्तको लागि सरकारसँग माग गरेको छ । कांग्रेसले आमनेपालीलाई अहिलेको विषम परिस्थितीमा अत्यावश्यक काममा बाहेकका अनावश्यकरुपमा आवतजावत नगर्न, सुरक्षाकर्मीको निर्देशनको पालना गर्न र कोरोना नियन्त्रणको सरकारी प्रयासमा हरतरहले सहयोग गर्न अपिल समेत गरेको छ ।