मङ्लबार, बैशाख ११, २०८१

भक्तपुरका प्रजिअसहित सुरक्षा निकायद्धारा उपत्यका प्रवेश गर्ने साँगा नाकाको अनुगमन

काठमाडौं बैशाख २७,
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले सोमवार काठमाडौं उपत्यका प्रवेश गर्ने पूर्वी नाका साँगा र भक्तपुर प्रवेश गर्ने पश्चिम नाका मनोहराको अनुगमन गर्नुभएको छ । निषेधाज्ञामा सवारी आवागमनलाई थप कडाई गर्न र काठमाडौं उपत्यका भित्रिने सवारी साधन र सर्वसाधारणको आवागमनका विषयमा बुझ्न प्रजिअसहितको सुरक्षा निकायका प्रमुख साँगा र मनोहरा पुगेर अनुगमन गर्नुभएको हो ।

उपत्यकाको पुर्वी नाका साँगा भएर काठमाडौं भित्रिने र मनोहरा हुँदैं भक्तपुर भित्रिने सवारी साधनको अवस्था बुझ्न अनुगमन गरिएको प्रजिअ भट्टराईले बताउनुभयो । “उपत्यकामा अनाधिकृतरुपमा र पास विना नै प्रवेश गरेको छ की छैन भनेर अनुगमनका लागि आएका हौं । यसमा सुरक्षाकर्मीले जुन प्रकारले काम गरिरहनुभएको छ, त्यो उत्कृष्ट भएको पायौं,” उहाँले भन्नुभयो । प्रजिअ भट्टराईले सुरक्षाकर्मीको हौसला र मनोबल बढाउन पनि अनुगमन गरिएको बताउनुभयो । “स्थानीय जनतालाई यो महामारीमा अनावश्यकरुपमा हिँड्डुल नगर्न सम्झाई बुझाई गर्नपनि अनुगमन गरिएको हो, यसले सुरक्षाकर्मीहरुको पनि हौसला र मनोवल बढ्छ भन्ने विश्वास लिएको छु,” उहाँले भन्नुभयो ।

अनुगमनका क्रममा बिरामीहरु औषधि उपचार गर्न, विद्यार्थी आफ्नो गृहनगर जान र केही पास बेगरका पनि आउने गरेको पाईएको प्रजिअ भट्टराईले बताउनुभयो । उहाँले म्याद सकिएको सवारी पास बोकेर र कामको प्रकृति, प्रयोजन नखुलेको, जारी मिति भएको तर म्याद कहिलेसम्म हो भन्ने स्पष्ट नभएको पास लिएर समेत सर्वसाधरण आवतजावत गरेको पाईएको बताउनुभयो । उहाँले साँगा नाकाबाट उपत्यका प्रवेश गर्न खोज्ने त्यस्ता व्यक्ति र सवारीसाधनलाई जहाँबाट आएको उतै फर्काउने गरेको जानकारी दिनुभयो । त्यस्तै जिल्लाभित्र अनधिकृतरुपमा आवतजावत गर्नेलाई चेकपोष्टमा होल्डमा राख्ने गरेको बताउनुभयो ।

अनुगमनमा भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापा, सशस्त्र प्रहरी बल दुवाकोटका डिएसपी लिला कार्की र राष्ट्रिय अनुसन्धान विभाग भक्तपुर जिल्ला प्रमुख विकास पाण्डे र सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।