शुक्रबार, बैशाख १४, २०८१

लाइफ लाइन सर्जिकल हाउसका संचालक प्याकुरेल पक्राउ

बरामद भएका स्यानिटाइजरको बजार मूल्य करिब १ करोड ८० लाख रुपैयाँ रहेको अधिकारीहरुको जनाउ

ललितपुर जेठ १०,

महानगरीय अपराध महाशाखाले गुणस्तरहीन ह्‍याण्ड स्यानिटाइजर उत्पादन तथा विक्री वितरण गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल शितलहाईट डेरा गरी बस्ने सुनसरी रामधुनी नगरपालिका-१ ठेगाना भएका लाइफ लाइन सर्जिकल हाउसका संचालक २६ वर्षीय आशिष प्याकुरेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

कोभिड-१९ का कारण सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पार्ने ‘७५५ ह्‍याण्ड स्यानिटाइजर’ बजारमा खुलेआम विक्री वितरण भइरहेको पाईएकोले त्यस्ता स्यानिटाइजरको गुणस्तर जाँचका लागि औषधि व्यवस्था विभागको प्रयोगशालामा परीक्षणको लागि पठाइएकोमा उक्त स्यानिटाइजर मिथानोल रसायन २४५ भेटिएको थियो । स्यानिटाइजरमा प्रयोग भएको रसायनले मानव स्वास्थ्यमा घातक असर गर्ने भएकोले तत्काल उक्त उत्पादन माथि नियन्त्रण गर्नु पर्ने जरुरी रहेको भन्ने औषधि व्यवस्था विभागबाट परीक्षण रिपोर्ट प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाको टोलील उक्त कार्यमा संलग्न प्याकुरेललाई पक्राउ गरेको हो ।

प्रहरीका अनसार आशिषले शितलहाईटमा घर भाडामा लिई औषधि व्यवस्था विभागमा दर्ता नगरी ‘रिप्याक्ट बाई आरसिबि ईण्डस्ट्रिज पर्सा’, नेपाल उल्लेख गरिएको नक्कली स्टिकर प्रयोग गरी स्यानिटाइजर तयारी तथा प्याकिङ गरी विक्री गर्ने गरेको स्थानबाट करिब २५ हजार लिटर नक्कली स्यानिटाइजर, २ हजार लिटर मिथानोल रसायन, ३ हजार ६ सय लिटर ETHYNIL रसायन, विभिन्न स्टिकरहरू र त्रिपुरेश्वरस्थित लाईफ लाईन सर्जिकल सप्लायर्सबाट करिब ५ हजार लिटर स्यानिटाइजर प्रहरीले बरामद गरेको छ । बरामद भएका स्यानिटाइजरको बजार मूल्य करिब १ करोड ८० लाख रुपैयाँ मूल्य बराबरको रहेको छ । उक्त सर्जिकल हाउस औषधि व्यवस्था विभाग तथा जिल्ला प्रशासन कार्यालय ललितपुरको रोहवरमा शिल गर्नुका साथै बजारमा विक्री वितरण हुन नदिन प्रहरीले सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरिरहेको जानकारी सहित पक्राउ परेको आशिषलाई कालो बजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइने महाशाखाले जनाएको छ ।

मापदण्ड विपरीतका स्यानिटाइजर सहित ३ जना पक्राउ:  यसैवीच महानगरीय प्रहरी परिसर काठमाडौंले मापदण्ड विपरीतका स्यानिटाइजर सहित ३ जनालाई काठमाडौंका विभिन्न उद्योगबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने सोही महानगरपालिका-२२ घर भएका उत्सब डिटर्जेण्ट एण्ड कस्मेटिक उद्योगका संचालक ४३ वर्षीय कमल अग्रवाल, सोही उद्योगका प्रोपाईटर ४८ वर्षीय राकेश अग्रवाल र काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने लामा समिप इन्टरप्राइजेज प्रालिका संचालक ४२ वर्षीय सुमन लामा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उत्सव डिटर्जेन्ट एण्ड कस्मेटिक कम्पनी लिमिटेड काठमाडौं बालाजुबाट आइपिए रसायन भएको २ सय लिटरका ८ थान ड्रम, स्यानिटाइजर बनाउने रसायन २ सय लिटरका ७ थान ड्रम, पिजि एलएलपि र ग्लाईसिन रहेको २ सय लिटरका ५ थान ड्रम, ५ सय मिलिमिटरका १ सय २७ कार्टुन स्यानिटाइजर, १ सय मिलिलिटरका ३५ कार्टुन स्यानिटाइजर, ५ लिटरका ४० कार्टुन स्यानिटाइजर, १ लिटरका २ कार्टुन स्यानिटाइजर, मूल्य तथा मिति लेवलिङ प्रयोग गर्ने ३ थान मेसिन र कमल अग्रवालको नाममा दर्ता भएको उत्सव डिटर्जेन्ट एण्ड कस्मेटिक उद्योगको स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, सोही कम्पनीको काठमाडौं महानगरपालिका(१३ चागल स्वयम्भूबाट १ सय मिलिलिटरका ७८ कार्टुन स्यानिटाइजर, ५ सय मिलिलिटरका २२ कार्टुन स्यानिटाइजर, ५ लिटरका २१ कार्टुन स्यानिटाइजर र १ सय मिलिलिटरका स्यानिटाइजर ५८ किरेट समेत प्रहरीले बरामद गरेको जनाएकोछ ।