शनिबार, बैशाख १५, २०८१

दोस्रो चरणको आन्दोलन पूर्व तीनवटा सञ्चार गृहलाई महासंघको ५ दिने अल्टिमेटम

काठमाडौ मंसिर ११,
नेपाल पत्रकार महासंघले बिहीबार तीनवटा सञ्चार गृहलाई पाँच दिने अल्टिमेटम दिँदै यसवीचम माग पुरा नभए दोस्रो चरणको आन्दोलन गर्ने चेतावनीसहितको पत्र पठाएको छ ।

महासंघले अन्नपूर्ण पोष्ट दैनिक, राजधानी दैनिक र कारोबार दैनिकको व्यवस्थापनलाई महासचिव रमेश विष्टले लेखेको पत्रमा लिखित, मौखिक र वार्तामार्फत सम्बद्ध सञ्चार गृहहरुमा देखिएको श्रम समस्या समाधानार्थ महासंघले गरेको पहलबाट समस्या सम्बोधन हुन नसकेकाले कात्तिक २६ गते पहिलो चरणमा सम्बद्ध सञ्चार गृहमा कालो ब्यानर टाँसी धर्ना दिइएको स्मरण गराइएको छ । पहिलो चरणको दबाबबाट समेत समस्या हल नभएकाले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

त्यस्तै महासंघका सचिव तथा श्रमजीवी हीत प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालका अनुसार, पत्र प्राप्त भएको मितिले पाँच दिनभित्र माग पुरा नगरिए महासंघ दोस्रो चरणको आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पत्र पठाइएको हो ।

महासंघको शुक्रबार धादिङमा बस्ने उपलब्ध केन्द्रयि समितिको बैठकले आन्दोलनको स्वरुप र मिति तय गर्ने जनाइएको छ । प्रेस सम्बद्ध संगठनहरुबाट दोस्रो चरणमा सम्वद्ध संचार गृहका संचालकहरुको घर घेराउदेखि संचार गृहमा सत्याग्रह र आमरण अनसनसम्म गर्न महासंघलाई सुझाव प्राप्त भएकाले सोही सुझावका आधारमा आन्दोलनको स्वरुप तय हुने सचिव दाहालले जानकारी दिनु भएको छ ।

महासंघले श्रमजीवी पत्रकारको अधिकारप्राप्तिका लागि वार्तासंवाद, पत्राचार, कानुनी संघर्षदेखि आन्दोलनसम्म गर्दै आएको छ । पछिल्लो समय कोरोना महामारीको लाभ लिंदै नियमित पारिश्रमिक नदिने, पारिश्रमिक आधा घटाउने, निष्काशन गर्ने, फोर्स लिभमा राख्ने, अनुचित सरुवा गर्नेलगायतका समस्या देखिएपछि महासंघ त्यस विरुद्ध आन्दोलित छ ।