आइतवार, बैशाख १६, २०८१

प्रतिनिधिसभा प्रदेशसभा सदस्य र समानुपातिक निर्वाचनको मतगणना एकसाथ प्रारम्भ गरिने

काठमाडौं मंसिर १९, मंसिर २१ मा हुने दोस्रो चरण निर्वाचन मतदान सकिएपछि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र समानुपातिक निर्वाचन प्रणालीबमोजिमको मतगणना एकसाथ प्रारम्भ गरिने भएको छ ।  निर्वाचन अधिकृतले मतदान सकिएको दिन बेलुकी ५ बजेपछि कम्तीमा तीनवटा मतगणना टोली बनाई गणना कार्य सुरु गर्नुपर्ने ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन मतगणना निर्देशिका २०७४’ मा उल्लेख छ ।

तर स्थान अभावमा एकै समयमा सबै निर्वाचनको मतगणना गर्न नसकिने भएमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिमको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको मतगणना एकैपटक गरी सो गणना समाप्त भएपछि मात्रै समानुपातिक निर्वाचन प्रणालीको मतगणना गरिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए । प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना एकैपटक गर्दा अलगअलग कोठामा गर्नुपर्नेछ । एउटै कोठामा गर्नुपरेमा मतपत्र नमिसिने गरी गर्नुपर्नेछ । स्थान अभाव वा कुनै कारणवश प्रतिनिधसभा सदस्य र प्रदेशसभाको पनि एकसाथ मतगणना गर्न नसकिने अवस्था आएमा पहिले प्रतिनिधिसभा सदस्य र त्यसपछि प्रदेशसभा सदस्यको मतगणना गरिनेछ ।

‘हाम्रो लक्ष्य चाहिँ तीनवटाकै मतगणना एकैपटक सुरु गर्ने छ,’ ढकालले भने, ‘एकैपटक सम्भव नभए समानुपातिक छोडेर सुरु गर्ने र त्यो पनि नभए पहिले प्रतिनिधिसभा सदस्यको मतगणना गरिनेछ ।’ आयोगका अनुसार निर्वाचन अधिकृत नै मतगणना अधिकृत रहनेछन् । निर्वाचन अधिकृतले कम्तीमा सात जना कर्मचारी रहेको मतगणना टोली गठन गर्नेछन् । जसमा प्रमुख मतगणना अधिकारी एक, सहायक मतगणना अधिकारी एक, मतगणना सहायक एक, कम्युटर अपरेटर एक, सहायक कर्मचारी दुई र सहयोगी कर्मचारी एक जना रहनेछन् ।

निर्देशिकाको दफा ५ उपदफा ३ अनुसार निर्वाचन अधिकृतले स्थान उपलब्ध भएसम्म कम्तीमा तीनवटा मतगणना टोली बनाई गणना कार्य प्रारम्भ गर्नुपर्नेछ ।मतगणना कार्य छिटो सिध्याउनका लागि मतपत्र संख्या, उपलब्ध स्थान र सुरक्षा व्यवस्थासमेतको आधारमा तीनभन्दा बढी मतगणना टोली गठन गरी गणना गर्न सकिनेछ । निर्देशिकाअनुसार प्रत्येक मतगणना टोलीले कम्तीमा प्रतिसिफ्ट समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ५ सय र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ  ३ हजार थान मतपत्र गणना गर्नुपर्नेछ ।

मतगणनाका विकल्प

पहिलो : समानुपातिकसहित सबै गणना एकसाथ

दोस्रो :प्रतिनिधिसभा र प्रदेशसभा (प्रत्यक्ष) एकसाथ

तेस्रो : प्रतिनिधिसभाको (प्रत्यक्ष) नतिजापछि प्रदेशसभा

मतगणना प्रक्रिया

सात सदस्यीय तीनवटा गणक टोलीबाट एकसाथ गणना

एक क्षेत्रको मतगणना एउटै कम्पाउन्डभित्र एक सिफ्टमा प्रत्यक्षका ३ हजार र समानुपातिकका १ हजार ५ सय थान मतपत्र गणना सबै मतदान केन्द्रका मतपेटिका प्राप्त भइसकेपछि निर्वाचन अधिकृतले मतगणना हुने स्थान, मिति र समय उल्लेख गरी सूचना प्रकाशित गर्नुपर्नेछ ।

तर कुनै मतदान केन्द्रमा पुनः मतदान हुने भएमा पुनः मतदान हुने मतदान केन्द्रको मतपेटिका मतगणनास्थलमा प्राप्त नभएसम्म मतगणना सुरु गरिनेछैन ।  मतगणनास्थल निर्वाचन अधिकृतले नै तोक्नेछन् । मतगणनास्थल सुविधा र सुरक्षाको दृष्टिले उपयुक्त सरकारी कार्यालय वा सामुदायिक भवनमा तोक्नुपर्ने व्यवस्था छ ।निर्वाचन अधिकृतले सम्भव भएसम्म एउटै कोठा वा ठाउँमा मतगणना गर्ने व्यवस्था मिलाउनुपर्नेछ । पर्याप्त ठाउँ नपुगेको अवस्थामा मात्रै अर्को कोठामा गणना गर्नुपर्नेछ ।  एउटै भवनमा पर्याप्त ठाउँ नभएमा एउटै परिसर (कम्पाउन्ड) रहेको अर्को भवनमा पनि मतगणना गर्न सकिने आयोगले जनाएको छ । सर्वसाधारणलाई समयसमयमा मतगणनाको प्रगति र नजिताको जानकारी दिनका लागि सूचनापाटी वा माइकको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माका अनुसार मतगणनास्थलमा राजनीतिक दल तथा उम्मेदवारले मतगणना प्रतिनिधि राख्न सक्नेछन् । उनका अनुसार प्रत्यक्षका लागि उम्मेदवारका प्रतिनिधि र  लागि दलका प्रतिनिधि राखिनेछन् ।  २१ मंसिरको बेलुकी ५ बजेपछि कुल ७७ वटै जिल्लामा एकसाथ मतगणना सुरु गरिने र पाँच दिनभित्रमा प्रत्यक्षतर्फको नजिता सार्वजनिक भइसक्ने शर्माले बताए । ‘समानुपातिकतर्फको नतिजाचाहिँ देशभरिबाट दलले पाएको मत जम्मा भएर आउनुपर्ने भएकाले पुसको २/४ गतेसम्म पुग्न सक्छ,’ उनले भने । राजधानीबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।