सोमवार, बैशाख १७, २०८१

सूचनाको हक प्रयोग गरेर रिपोटिङ गर्ने चार पत्रकार पुरस्कृत

न्यूनतम पारिश्रमिक कार्यान्वयन अभियान सञ्चालन गर्ने

काठमाडौं भाद्र १०, सूचनाको हक प्रयोग गरेर रिपोर्टिङ गर्ने चार जना पत्रकारहरुलाई नेपाल पत्रकार महासंघले पुरस्कृत गरेको छ । महासंघले यसअघि सञ्चालन गरेको सूचनाको हक र खोज पत्रकारिता तालिममा सहभागी भइ रिर्पोटिङ गर्ने ५० जनामध्येबाट छानिएका उत्कृष्ट चार जनालाई पुरस्कृत गरिएको हो ।
IMG_4575पुरस्कृत हुने पत्रकारहरुमा राजधानी दैनिकका पत्रकार डिल्ली आचार्य, नागरिक दैनिककी पत्रकार चाँदनी हमाल, ओखलढुङ्गका पत्रकार शिव ढुंगाना र मकवानपुरकी पत्रकार अञ्जली थापा छन् ।
पुरस्कार वितरण समारोहमा बोल्दै महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले पुरस्कृत पत्रकारहरुलाई बधाई दिँदै महासंघले सञ्चालन गरेको सूचनाको हक र खोज पत्रकारिता तालिमबाट १९ जिल्लाका ३०० जना पत्रकार प्रत्यक्ष रुपमा लाभान्वित भएको बताउनुभयो । यसले नेपालको पत्रकारितालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै महासंघले आगामी दिनमा पनि पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न पहल गर्ने बताउनुभयो ।
अध्यक्ष विष्टले नेपालको सन्दर्भमा सूचनाको हक सम्बन्धी विषय आम नागरिकले भन्दा पत्रकारहरुले बढी उपभोग गरेको बताउँदै यसलाई आम नागरिकको पहुँच बढाउन भूमिका खेल्नपर्ने आवश्यकता औल्याउनुभयो । सो क्रममा उहाँले श्रमजीवी पत्रकार ऐन र पत्रकारहरुको न्यूनतम पारीश्रमिक अझै पनि कार्यान्वयन नभएकोले त्यसको पूर्ण कार्यान्वयनमा पत्रकार महासंघले सक्दो पहल गर्ने बताउनुभयो ।
त्यसैगरी पुरस्कार छनौट समितिका संयोजक एवं  महासंघका उपाध्यक्ष खिलबहादु भण्डारीले तालिममा सहभागीहरुबाट दुई दुईवटा रिपोर्ट माग गरिएकोमा ५० जनाले १०० वटा रिपोर्ट पठाएको जानकारी दिनुभयो । त्यसमध्ये छानेर चार जना उत्कृष्ट पत्रकार र रिपोर्टलाई पुरस्कृत गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा पुरस्कृत पत्रकार डिल्ली आचार्य, चाँदनी हमाल र शिव ढुंगानाले महासंघले सञ्चालन गरेको तालिम, त्यसबाट सिकेको कुरा व्यवहारमा कार्यान्वयन गर्दाको अवस्था र पुरस्कार प्राप्त गर्दाको अनुभूती सुनाउनुभएको थियो ।
महासंघका सचिव प्रभात चलाउनेले सञ्चालन गरेको कार्यक्रममा महासंघका सचिव धर्मेन्द्र कर्ण, ध्रुब लम्साल, कोषाध्यक्ष सुर्यमणी गौतम तथा केन्द्रीय सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

यसैवीच महासङ्घले श्रमजीवी पत्रकार ऐन र श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउनका लागि अभियान सञ्चालन गर्ने भएको छ । महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टको अध्यक्षतामा आज बसेको केन्द्रीय समितिका उपलब्ध पदाधिकारी तथा सदस्यको बैठकले सञ्चारमाध्यममा न्यूनतम पारिश्रमिक कार्यन्वयन गराउन अभियानका रुपमा सञ्चालन गर्ने निर्णय गरेको सचिव प्रभात चलाउनेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  बैठकले न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउनका लागि सोमबार काठमाडौँ उपत्यकाका जिल्ला शाखा, प्रतिष्ठान शाखा र एसोसिएट शाखाका पदाधिकारी, सभासद् तथा सदस्यको सहभागितामा भेला गर्ने निर्णय गरेको छ ।