शनिबार, बैशाख २२, २०८१

आर्ट काउन्सिलमा कलाका ’कुरा’ को ८ औं श्रङ्खला

काठमाडौं आषाढ ८,  हरेक महिनाको दोस्रो बुधबार नेपाल ललितकला पत्रकार समाजले आयोजना गर्दै आएको ‘कलाका कुरा’ को ८ औं श्रङ्खला नेपाल आर्ट काउन्सिलमा सम्पन्न भयो । यस श्रङ्खलामा कलाकार तथा कलालेखक मदन चित्रकारसँग कला पत्रकारिता, कलाको kalaka kura (2)इतिहास लेखन तथा समीक्षाका विषयमा छलफल ग-यो । नेपालमा कला पत्रकारिता र लेखनको इतिहास त्यत्ति लामो छैन । कला लेखनको कमीका कारण नेपाली कलाको जति व्यापकता हुनपर्ने हो त्यत्ति हुन नसकेको बताउँदै चित्रकारले भने, ‘नेपाली कला लेखनको इतिहास त्यत्ति लामो छैन । नेपाली कलाको जति चर्चा हुनुपर्ने हो सो हुन नसक्नुमा कला लेखनको कमीले भएको हो ।’ नेपाली कलाको लामो परम्परामा कला लेखन कार्यलाई खासै चासो नदिएकोमा उनले दुखेसो समेत पोखे ।

नेपाली कलाको इतिहास लेखनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिदै चित्रकारले भने, ‘इतिहास लेखन भएन भने कलाको सही मूल्याङ्कन हुन सक्दैन । त्यस्तै हाम्रा अमूल्य सम्पदाको सौन्दर्यतालाई बाहिर ल्याउन सकिदैंन, जसले गर्दा कलाको सामाजिक मूल्य हराएर जान्छ ।’
नेपाली ललितकला पत्रकारिताका विषयमा चित्रकारले पहिलाभन्दा अहिले विकास भएको र सन्तोष गर्ने अवस्था आएको बताए । उनले भने, ‘कला पत्रकारिताले जति फड्को मार्नुपर्ने हो त्यत्ति मार्न नसकेपनि अहिले कलाको समाचार एवम् फिचरहरु आइरहेको छ । यो कला क्षेत्रकै लागि सकारात्मक कुरा हो ।’

नेपाली कला समीक्षाको विकास भने संतोषजनक रुपमा अगाडि बढन नसकेको चित्रकारले गुनासो गरे । उनले थपे, ‘अहिले भइरहेको समीक्षा खासमा कृतिपरक भन्दा पनि व्यक्तिपरक हुन गएको छ । यसमा सुधार हुनुपर्दछ । अझ कला समीक्षकमा कलाका सैद्धान्तिक तथा व्यवहारिक पक्षको ज्ञान हनुपर्दछ । त्यस्तो अवस्था भने नेपालमा छैन ।’ नेपाली कलाको विकासमा समेत कला लेखनको महत्वपूर्ण भूमिका हुने बताउँदै चित्रकारले थपे, ‘कला मात्रै बनाएर पुग्दैन यसमा कला पत्रकारिता, लेखन तथा समीक्षाको ठूलो महत्व रहन्छ ।’ सो कार्यकममा अग्रज पौभा कलाकार लोक चित्रकारले परम्परागत कलाको विकासमा राज्य अनुदार जस्तै देखिएको बताए । परम्परागत कलाको शिक्षामा समेत राज्यले अहिलेसम्म केही गर्न नसकेको बताउँदै उनले भने, ‘यसले नेपाली मौलिक परम्परागत कलाको विकास र प्रवर्धनमा ठूलो खाडल पैदा गरेको छ ।’ कार्यक्रममा कलाकार सुदर्शन राणा, सञ्जय श्रेष्ठ, पूर्ण रञ्जितकार, नगेन्दप्रसाद पौड्याल, नवेन्द्र लिम्बु, दिवेश प्रधान, केशव राज खनाल लगायतले कला लेखन र कला क्षेत्रका विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रमको सहजीकरण समाजका महासचिव देवेन्द्र थुम्केलीले गरेका थिए ।  तस्वीर सौजन्यः दिवेश प्रधान