शनिबार, बैशाख १५, २०८१

हवाई इन्धनका कारण आन्तरिक वायुसेवा प्रभावित,आजका लागि निर्धारित अधिकांश उडान रद्द

काठमाडौं कात्तिक २२, नेपाल आयल निगमले अर्को व्यवस्था नभएसम्म हवाई इन्धन उपलब्ध गराउन नसक्ने जानकारी गराएपछि आइतबारबाट आन्तरिक हवाई सेवा प्रभावित हुने भएको छ । नयाँ पत्रिका दैनिकले अच्युत पुरीको वाइलाइनमा प्रकाशित समाचारमा उल्लेख भए अनुसार वायुसेवा सञ्चालक संघ, नेपाल आयोन का अनुसार हवाई इन्धन आपूर्तिका लागि नेपाल वायुसेवा निगमसँग भएको सम्झौताअनुसार आपूर्ति नभएकाले निजी क्षेत्रका कम्पनीलाई इन्धन दिन airportनसकिएको जानकारी निगमबाट प्राप्त भएको छ ।

सोही जानकारीका आधारमा संघले आफ्ना सदस्य कम्पनीलाई पछिल्लो परिस्थितिबारे शनिबार नै ‘अपडेट’ गराएको थियो । ‘हामीले एनओसीले दिएको जानकारीबारे सबै कम्पनीलाई अपडेट गराएका छौँ,’ आयोनका प्रवक्ता घनश्याम आचार्यले भने, ‘उडान गर्ने या रद्द गर्ने जिम्मा सम्बन्धित कम्पनीको हो ।’ त्यससँगै निजी कम्पनीहरूले आइतबारका लागि निर्धारित अधिकांश उडान रद्द गरी त्यसको जानकारी ग्राहकलाई गराइसकेको जनाएका छन् ।

बुद्ध एयरले आइतबार धनगढी, भैरहवा र नेपालगन्ज सेक्टरमाबाहेक अन्य गन्तव्यका लागि आइतबारका लागि निर्धारित उडान रद्द गरेको कम्पनीका सिनियर सेल्स एन्ड मार्केटिङ म्यानेजर परासरजंग पाण्डेले जानकारी दिए । कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्र बस्न्यातका अनुसार उपत्यकाबाहिरका केही विमानस्थलमा इन्धन मौज्दात रहेको जानकारी आएका कारण त्यहाँ मात्र उडान गर्न लागिएको हो । ‘नेपाल वायुसेवा निगम र नेपाल आयल निगम दुवै पक्ष पछिल्लो परिस्थतिबारे गम्भीर नबन्दा यो अवस्था आएको हो,’ उनले भने, ‘यसबाट विभिन्न स्थानमा रहेको पर्यटक र आपत्कालीन यात्रा गर्नुपर्ने सर्वसाधारण सबैभन्दा बढी प्रभावित हुनेछन् ।’ यती एयरलाइन्सले आइतबारका सबै उडान रद्द भएको र त्यसबारे ग्राहकलाई जानकारी गराइसकिएको कम्पनीका प्रबन्धक (ग्राउन्ड ह्यान्डलिङ विभाग) भीमराज राईले बताए ।

सबै जहाजमा अलिअलि बचेको इन्धन जम्मा पार्ने हो भने एक–दुई उडान गर्न सकिएला,’ उनले भने, ‘तर, थप इन्धन नपाउने हो भने सबै उडान बन्द हुन्छन् ।’ निजी कम्पनीले दुई जिम्मेवार निगमको असक्षमताका कारण अत्यावश्यक सेवाअन्तर्गत पर्ने वायुसेवासमेत बन्द हुने स्थितिमा पुगेको प्रतिक्रिया दिएका छन् । ‘गम्भीर परिस्थतिमा वायुसेवा निगमले आफ्नो सेवामा सुधार ल्याउन नसक्नु र आयल निगमले वेलैमा व्यवस्थापन गर्न नसक्नु नै यसका मुख्य जिम्मेवार पक्ष हुन्,’ आयोनका प्रवक्ता आचार्यले भने । आइतबार इन्धन उपलब्ध भएमा सोमबारबाटै उडान पुनस् सुचारु हुने कम्पनीको भनाइ छ । कतिपय सञ्चालकले भने अहिले अभाव देखाएर हवाई इन्धन आपूर्तिका लागि निजी कम्पनीसँग महँगो मूल्यमा सम्झौता गर्ने तयारी गरिएको हुन सक्ने आशंकासमेत गरेका छन् ।

सम्झौता बुझाइमा अस्पष्टता देखियो : वायुसेवा निगम नेपाल वायुसेवा निगमले भने सम्भव भएसम्म कोलकाताबाट इन्धन ल्याइरहेको र आयल निगमले बढी अपेक्षा गरेका कारण समस्या उत्पन्न भएको प्रतिक्रिया दिएको छ । हामीले आयल निगमसँग सम्झौता गर्दा सम्भव भएसम्म दैनिक ४ वटासम्म चार्टर्ड उडान गरी इन्धन ल्याउने भनेका थियौँ,’ वायुसेवा निगमका प्रवक्ता रामहरि शर्माले भने, ‘त्यसलाई दैनिक अनिवार्य ४ वटा उडान गर्नुपर्ने बुझिएकाले समस्या भएको हो ।’ जहाजबाट इन्धन ओसार्नु आफैँमा संवेदनशील पक्ष भएको र त्यति हुँदाहुँदै पनि राष्ट्रको आवश्यकता महसुस गरी इन्धन आपूर्तिकै प्रयोजनका लागि नियमित उडान गरिरहेको उनले जानकारी दिए । प्रवक्ता शर्माका अनुसार शनिबार पनि निगमले कोलकातामा दुई चार्टर्ड उडान राखेको थियो । निगमले एकपटकको उडानमा २२ हजार लिटर इन्धन ल्याउन सक्छ । आयल निगमका लागि हालसम्म २५ वटा उडान भइसकेको निगमले जनाएको छ । आफ्ना जहाजमा प्रयोग गर्ने गरी निगमले अहिलेसम्म ११ वटा उडान गरिसकेको बताइएको छ । वायुसेवा निगम यात्रुबाहक कम्पनी भएका कारण इन्धन ओसार्ने जिम्मेवारी निजी क्षेत्रले नै पाउनुपर्ने सो कम्पनीको भनाइ छ । निगमको आन्तरिक तथा बाह्य सेवामा भने कुनै असर नपर्ने प्रवक्ता शर्माले जानकारी दिए । नेपालमा आन्तरिक उडानका लागि दैनिक ५५ हजार लिटरसम्म इन्धन आवश्यक पर्छ ।