शुक्रबार, बैशाख १४, २०८१

सीमानाकामा हुने चाँदीको चोरीनिकासीबारे अनुसन्धान गर्न भारतीय दूतावासद्वारा अख्तियारमा उजुरी

काठमाडौ   कात्तिक ११,  भारतको आग्रहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल–भारत सीमामा हुने चाँदीको चोरीनिकासीबारे अनुसन्धान थालेको छ। भारतले सीमामा हुने चाँदीको चोरीनिकासी रोक्न भनेपछि अख्तियारले अहिले अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागसँग जानकारी माग गरेको छ।
images (2)अर्थ मन्त्रालय उच्चस्रोतका अनुसार काठमाडौंस्थित भारतीय दूतावासले सिधै अनुसन्धानको आग्रह गर्दै अख्तियारलाई चिठी पठाएपछि त्यसैलाई आधार मानेर जानकारी माग गरिएको हो ।  कुनै पनि विदेशी दूतावासले परराष्ट्र मन्त्रालयमार्फत मात्र अन्य सरकारी निकायसँग सम्पर्क गर्ने कूटनीतिक मान्यता छ। भारतीय दूतावासले सिधै पत्राचार गरेपछि अख्तियारले पनि त्यही आधारमा भन्सार विभागसँग जानकारी मागेको खवर आजको नागरिक दैनिकमा प्रकाशित रहेको   छ ।
‘कूटनीतिक मर्यादा र सार्वभौम राष्ट्रको मान्यता विपरीत भारतीय दूतावासले सिधै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरी सीमामा हुने गरेको चाँदीको चोरीनिकासी रोक्न भनेको छ। विदेशी दूतावासको पत्रलाई सरकारको निर्देशनझैं शिरोधार्य गर्न अख्तियारले मिल्दैन,’ स्रोतले भन्यो, ‘केही समस्या परे दूतावासले सम्पर्क मन्त्रालय (परराष्ट्र मन्त्रालय) मार्फत राख्नुपर्छ । सिधै कुनै पनि सरकारी निकायसँग सम्पर्क राख्न पाउँदैनन् ।
भारतीय दूतावासले असोज ७ गते अख्तियारलाई पत्र पठाएको थियो । नयाँ संविधान जारी भएको प्रति असन्तुष्टि जनाउँदै नेपालमाथि नाकाबन्दी लगाइरहेको भारतको काठमाडौंस्थित दूतावासले सीमाबाट चाँदीको चोरीनिकासी बढेको भन्दै पत्रमा रोक्न आग्रह गरिएको छ ।   भारतीय दूतावासको पत्रलाई आधार बनाई अख्तियारले असोज १४ गते भन्सार विभागलाई पत्र पठाएको थियो । दूतावासको पत्रको प्रतिसमेत राखेर अख्तियारले भन्सारलाई पत्राचार गरेको थियो । अख्तियारले भन्सारलाई पठाएको पत्रमा ‘सीमामा हुने गरेको चाँदी चोरीनिकासी स्थितिबारे जानकारी गराऊ’ भनिएको छ । दूतावासले अख्तियारलाई पठाएको पत्रको बोधार्थ अर्थ मन्त्रालय, राष्ट्र बैंक र परराष्ट्र मन्त्रालयलाई समेत पठाएको छ तर ती निकायले दूतावासले उठाएको विषयलाई लिएर भन्सार विभागसँग कुनै सम्पर्क गरेका छैनन् ।
  ‘नियमअनुसार भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमार्फत भन्सारसँग यही कुरा सोध्न सक्थ्यो। परराष्ट्रले अख्तियारलाई पनि भन्न सक्थ्यो तर दूतावासले सिधै अख्तियारलाई पत्र लेख्ने र दूतावासकै पत्रका आधारमा अख्तियारले छानबिन अघि बढाउन मिल्दैन,’ स्रोतले भन्यो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता कृष्णहरि पुष्करले भारतीय दूतावासले चाँदी चोरीनिकासीप्रति चासो राख्दै पठाएको पत्र अख्तियारलाई प्राप्त भएको पुष्टि गरे।  भारतीय दूतावासबाट उजुरी प्राप्त भएको छ। हामीकहाँ आएर जसले पनि उजुरी दिन सक्छ । भारतको पत्र सूचना र उजुरीका रुपमा आएको हो,’ उनले नागरिकसँग भने, ‘भ्रष्टाचार र अनुचित कार्यसम्बन्धी उजुरी हामीकहाँ दिन मिल्छ, परराष्ट्र मन्त्रालय जानुपर्छ भन्ने छैन,’ प्रवक्ता पुष्करले भने। अख्तियारले सिधै विदेशी दूतावासलाई पत्राचार नगर्ने जनाउँदै उनले स्वदेश तथा विदेशबाट आउने उजुरी र सूचना भने अख्तियारले लिने बताए । उनले भने, ‘सूचना र उजुरीका स्रोत विभिन्न हुन्छन् । स्वदेश र विदेशबाट आउने सूचना र उजुरीको सम्बोधन गर्ने निकाय अख्तियार हो ।’ भारतीय दूतावासको पत्रलाई सूचना र उजुरीका रुपमा लिई कानुनअनुसार प्रक्रिया अघि बढाइएको उनले जनाए ।